काठमाडौं, २१ जेठ । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादव लाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा निलम्बन गरेको छ।
पार्टीको केन्द्रीय अनुशासन समितिको बिहीबार बसेको बैठकले अन्तिम निर्णय नभएसम्मका लागि यादवलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको हो। गत फागुनमा सम्पन्न निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउन भूमिका खेलेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो।
यस विषयमा कांग्रेसले यादवसँग दुई पटक स्पष्टीकरण मागेको थियो। पहिलो पटक वैशाख ३० गते पाँच दिनभित्र जवाफ दिन भनिएको थियो भने त्यसपछि जेठ १२ गते पुनः स्पष्टीकरण सोधिएको थियो। तर, दुवै पटक उनले कुनै जवाफ नदिएको पार्टीले जनाएको छ।
पार्टी सचिव दिनेश थापामगर का अनुसार स्पष्टीकरण नआएपछि घटनाबारे थप अनुसन्धान आवश्यक देखिएकाले विधान र नियमावलीअनुसार अन्तिम निर्णय नभएसम्मका लागि निलम्बन गरिएको हो।
यादवसहित १६ जनाको नाम अनुशासन सम्बन्धी कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको बताइएको छ। कांग्रेसले अनुशासनविपरीत गतिविधिमा संलग्न भएको आरोप लागेका व्यक्तिमाथि थप छानबिन जारी रहने जनाएको छ।
कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादव निलम्बित
Leave a Comment
Leave a Comment






