रास्वपालाई प्रचण्डको चेतावनी– संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२८ चैत २०८२, काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमाथि छेडखानी गरी जनताका अधिकार खोस्ने प्रयास भए सडक र सदन दुवैबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले भने, “संविधानभित्र रहेर राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले रचनात्मक र सकारात्मक काम गर्छ भने हामी सकारात्मक रूपमा समर्थन गर्छौं। तर संविधानमाथि छेडखानी भयो, राष्ट्रिय हितमा आँच आयो वा जनताका अधिकार खोस्ने गतिविधि भए भने त्यसको विरोध सडक र सदन दुवैबाट गर्छौं।”

उनले आफूले यो विषय सुरुदेखि नै स्पष्ट रूपमा उठाउँदै आएको बताए। साथै, विद्यार्थीहरूको हक–अधिकार तथा कर्मचारी ट्रेड युनियनको अधिकारमाथि प्रश्न उठाउने प्रयास भइरहेको भन्दै सतर्क रहन आग्रह गरे।

“जनताले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त गरेका अधिकारमाथि कुनै पनि प्रकारको हस्तक्षेप हुन नदिनुपर्छ,” उनले भने।

प्रचण्डले संविधान संशोधनको विरोधी आफू नभएको स्पष्ट पार्दै संशोधन जनताको अधिकार थप्नका लागि हुनुपर्ने बताए। “संविधान संशोधन महिलाहरूको अधिकार विस्तार गर्न र जनताको हक सुदृढ बनाउन हुनुपर्छ, खोस्नका लागि होइन,” उनले भने।

उनका अनुसार संविधान संशोधन गर्दा संघीयतालाई अझ सुदृढ बनाउने दिशामा ध्यान दिनुपर्ने छ।

Leave a Comment