८ कात्तिक, कलैया । सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ। पहिलो दिन आज ‘नहाय–खाय’ मनाइँदैछ।
आजको दिन ब्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा-अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ। पारिवारिक सुख–समृद्धि र सन्तानको कल्याणको कामनासहित मनाइने यो पर्वको दोस्रो दिन खरना भोलि (आइतबार) रहेको छ। भोलि साँझ ब्रतालुहरूले चामल, सक्खर र दूधबाट खीर बनाएर प्रसादस्वरूप ग्रहण गरी खरना विधि गर्ने चलन छ।
तेस्रो दिन सोमबार छठको मुख्य दिन सौझकारकका रूपमा मनाइन्छ। यस दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अर्घ्य दिने परम्परा छ। अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत् समापन हुन्छ, जसलाई ‘पारन’ भनिन्छ।
छठ पर्वमा बाँसको ढाकी, डगरी, माटोको कोसिया–कुरबार, हात्ती आदिसहितका सामग्री अर्पण गरिन्छ। ठकुवा, भुसुवा, केरा, उखु, मिठाई, अदुवा, हल्दी, तरकारी तथा विभिन्न फलफूल प्रसादका रूपमा सूर्यदेवलाई अर्पण गरिन्छ।
अर्घ्य दिने ब्रतालुले ४८ घण्टासम्म अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ, त्यसैले छठलाई निष्ठा र कठोर साधनाको पर्व मानिन्छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर चढाइएको सामग्री प्रसादका रूपमा ग्रहण र वितरण गरिने भएकाले यो पर्व सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा पनि लिइन्छ।
तराई–मधेशका बजारहरूमा अहिले पूजा सामग्री किनमेलको चहलपहल छ भने नदी, पोखरी र जलाशयका घाटहरू आकर्षक रूपमा सजाइँदै छन्।
कलैयाका रामजानकी, सिद्धेश्वर, बरेवा छठी घाटलगायतका जलाशयहरू बेहुलीझैं सिँगारिएका छन्। बत्ती र रंगीन कपडाले सजिएका घाटहरूमा स्थानीय महिला र युवतीहरू फूलमाला र डलासहित तयारीमा जुटेका छन्।
जनकपुरका गंगासागर, धनुषसागर, अंगराजसर र दशरथ तालजस्ता ऐतिहासिक जलाशयहरू पनि झिलमिल बत्ती र छठ गीतका मधुर स्वरले गुञ्जिरहेका छन्। सम्पूर्ण मिथिलाञ्चल अहिले छठको उल्लासमय वातावरणमा डुबेको छ।



Leave a Reply