मंसिर ४, २०८२ | काठमाडौँ
बाराको सिमरामा दुई दिनदेखि जारी तनाव न्यूनोन्मुख गराउन युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता बिहीबार साँझ सिमरा पुगेका छन्। जेनजी पक्ष र स्थानीय प्रशासनबीच संवाद गराउने उद्देश्यले मन्त्री गुप्ता सिमरा प्रस्थान गरेको जेनजी अगुवा पुरुषोत्तम यादवले जानकारी दिए।
मन्त्री गुप्तासँगै जेनजीसँग निकट मानिने पुरुषोत्तम यादव, हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र शिव यादव पनि सिमरा पुगेका छन्। उनीहरू प्रदर्शनकारी र प्रशासनबीच वार्ता गराउन सक्रिय रूपमा समन्वय गरिरहेको यादवको भनाइ छ।
यसअघि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेनजी युवालाई जिल्ला प्रशासन कार्यालय, कलैयामा बोलाएर वार्ता गर्ने प्रस्ताव गरेका थिए। सुरक्षा परिस्थिति संवेदनशील भएकाले कमान्ड पोस्ट छोडेर अन्यत्र जान नसकिने उनको तर्क छ।
तर जेनजी पक्षले वार्ता कलैयामा नभई जितपुर सिमरा उपमहानगरपालिकामै हुनुपर्छ भन्ने अडान दोहोर्याएको छ। दुई पक्षबीच दूरी घटाउन मेयर राजन पौडेलले पनि सक्रिय भूमिका खेलिरहेको बताएका छन्।
सिमरामा तनाव बुधबारदेखि चर्किएको हो। नेकपा एमाले निकट युवा संघले आयोजना गरेको राष्ट्रिय जागरण कार्यक्रम प्रति असन्तुष्टि जनाउँदै जेनजी युवाहरू बिहानैदेखि विरोधमा उत्रिएका थिए। एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत कार्यक्रममा सहभागी हुने सूचना पाएपछि प्रदर्शन आणखी तीव्र बनेको थियो।
प्रदर्शनका क्रममा सिमरा विमानस्थल अगाडिको गेटसमेत तोडफोड भएको थियो। त्यसपछि एमालेका नेता–कार्यकर्ताले प्रदर्शनकारीलाई अवरोध गर्दै हातपात गरेको आरोप छ, जसले झनै तनाव निम्त्याएको हो। सोही पृष्ठभूमिमा सिमरा क्षेत्र कर्फ्यूअन्तर्गत छ।
यसबीच, जेनजी प्रदर्शनकारीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका जितपुर सिमरा उपमहानगरपालिकाका वडा नं. २ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नं. ६ का अध्यक्ष कैमद्विन अंसारीविरुद्ध ७ दिनको म्याद थपिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



Leave a Reply