टप एन्ड टी–२० मा नेपालको पहिलो परीक्षा, एनटी स्ट्राइकसँग भिड्दै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, भदौ ५ । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले शुक्रबार आफ्नो पहिलो खेल खेल्दैछ। नेपालले प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली एनटी स्ट्राइकको सामना गर्न लागेको हो।
नेपाल र एनटी स्ट्राइकबीचको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ। नेपालले यसपटक नेपाल ‘ए’ टोली पठाएको छ, जसको नेतृत्व अनिल शाहले गर्नेछन्। घरेलु टोली एनटी स्ट्राइकको कप्तानी भने अस्ट्रेलियाका डार्शी शर्टले सम्हाल्नेछन्।
एनटी स्ट्राइकमा शर्टसँगै बिग ब्यास लिगमा अनुभव बटुलेका जोर्डन सिल्क, टम मेन्जिज र वेस एगरजस्ता खेलाडी रहेका छन्। गत संस्करणमा नेपालविरुद्ध मैदान उत्रिएका केही खेलाडीलाई एनटीले यसपटक पनि निरन्तरता दिएको छ।
गत वर्षको भेटमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो। त्यसैले यसपटक नेपाल अघिल्लो नतिजा सुधार्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ।
नेपालका लागि यो टप एन्ड टी–२० सिरिजमा लगातार दोस्रो सहभागिता हो। पहिलो सहभागितापछि नेपालले यसपटक पनि प्रतियोगितामा आफ्नो उपस्थिति जनाएको हो।
सिरिजमा नेपालले एनटी स्ट्राइकबाहेक बंगलादेश हाई–परफर्मेन्स, होबार्ट हुरिकेन्स, एसीटी कमेट्स, किङ्समेन र भिक्टोरियाजस्ता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
विभिन्न क्रिकेट शैली र उच्च स्तरका टोलीसँग खेल्ने अवसरले नेपाली खेलाडीलाई आफ्नो क्षमता परीक्षण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि अनुभव हासिल गर्ने अवसर मिल्नेछ।

Leave a Comment