शंखमुलको होस्टलमा युवकको मृत्यु, दुई जनामाथि कुटपिट र धारिलो हतियार प्रहारको आरोप

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, ५ भदौ । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको विवादका क्रममा गम्भीर घाइते भएका एक

युवकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकी रहेका छन्। उनी काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित सोही होस्टलमा बस्दै आएका थिए।
प्रहरीका अनुसार होस्टलमा भएको विवादका क्रममा कालाथोकीमाथि धारिलो हतियार प्रहार गर्नुका साथै कुटपिट गरिएको थियो। घटनामा होस्टलकै बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेल संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।
घटनापछि प्रहरीले शेखर यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। फरार रहेका प्रमित पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको कारण र घटनामा संलग्न अन्य व्यक्तिको भूमिकाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Comment