फेरि अधुरै रह्यो नेपाली महिला टोलीको एसिया कप सपना

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, जेठ २७ — नेपाली महिला क्रिकेट टोलीको एसिया कप खेल्ने सपना फेरि अधुरै बनेको छ। केही दिनअघि एसियन गेम्स छनोटबाट बाहिरिएको नेपाल बुधबार एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग पराजित हुँदै एसिया कपको दौडबाट समेत बाहिरिएको हो।
मलेसियामा भएको खेलमा थाइल्यान्डले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो। कमजोर ब्याटिङ प्रदर्शनका कारण नेपालले लगातार दोस्रो महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताको अवसर गुमाएको छ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित २० रन बनाइन् भने सोनी पाख्रिनले १५, सीता रानामगरले १२ र सम्झना खड्काले ११ रन जोडिन्। अन्य ब्याटरले अपेक्षित प्रदर्शन गर्न नसक्दा टोली लक्ष्य नजिकसमेत पुग्न सकेन।
यसअघि टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १३० रन बनाएको थियो। थाइल्यान्डकी नानापत कोन्चारोन्काइले अविजित ६३ रनको उत्कृष्ट इनिङ्स खेल्दै टोलीलाई बलियो योगफल दिलाइन्। फनिता मायाले २६ रन तथा चनिदा सुथिराङले १६ रनको योगदान दिइन्।
बलिङतर्फ नेपालका कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले समान एक–एक विकेट लिए पनि थाइल्यान्डलाई ठूलो स्कोर बनाउनबाट रोक्न सकेनन्।
लगातार दुई महत्वपूर्ण छनोट प्रतियोगितामा असफल भएपछि नेपाली महिला क्रिकेट टोलीमाथि प्रदर्शन सुधारको दबाब थपिएको छ। गत साता एसियन गेम्स छनोटमा चीनसँग निर्णायक खेल हारेको नेपालले अब अर्को अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रतीक्षा गर्नुपर्ने भएको छ।

Leave a Comment