रौतहट । लामो समयदेखि आर्थिक गतिविधि प्रभावित बनेको चन्द्रपुर नगरपालिकामा अब गतिरोध अन्त्य हुने संकेत देखिएको छ। नगर प्रमुख सञ्जयकुमार काफ्ले र प्रमुख प्रशासकीय अधिकृत भद्रिराज ढकालबीचको असमझदारीका कारण रोकिएको बैंक खाता सञ्चालनका लागि जनप्रतिनिधिहरूबीच सहमति जुटेको हो।
खाता सञ्चालनका लागि कार्यपालिका सदस्य तथा भौतिक पूर्वाधार समिति संयोजक कल्याण कुश्वारले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यबीच समन्वयको वातावरण बनाउन सक्रिय पहल गरेका थिए। वडा नम्बर १ का अध्यक्ष बलराम राउतसहित अन्य कार्यपालिका सदस्यहरूले समेत गतिरोध हटाउन दबाब र छलफललाई अघि बढाएका थिए।
बैंक खाता बन्द हुँदा नगरपालिकाको नियमित प्रशासनिक कामसँगै विकास निर्माणका योजना, कर्मचारीको तलबभत्ता तथा उपभोक्ता समिति र निर्माण व्यवसायीको भुक्तानी प्रभावित भएको थियो। आर्थिक कारोबार रोकिँदा सम्पन्न भइसकेका योजनाको रकमसमेत भुक्तानी हुन नसकेको अवस्था थियो।
त्यसैगरी, चन्द्रपुर क्षेत्रमा लम्पी स्किन रोगको संक्रमणका कारण पशु प्रभावित भइरहेका बेला औषधि खरिद, उपचार तथा रोग नियन्त्रणका कार्यक्रम अघि बढाउन पनि आर्थिक कारोबार सञ्चालन आवश्यक बनेको थियो।
जनप्रतिनिधिहरूका अनुसार अब केही दिनभित्र बैंक खाता सञ्चालनमा आउने तयारी छ। खाता खुलेपछि रोकिएका भुक्तानी र विकास निर्माणका काम अघि बढ्नुका साथै नगरपालिकाको सेवा प्रवाह पनि क्रमशः नियमित हुने अपेक्षा गरिएको छ।
कुश्वारले नगरपालिकाभित्रको असमझदारीलाई संवादमार्फत समाधान गर्दै जनताको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनले खाता खुल्नु मात्रै समाधान नभएकाले आगामी दिनमा जनप्रतिनिधि र प्रशासनबीच सहकार्य र समन्वय कायम राख्नुपर्नेमा जोड दिएका छन्।

