काठमाडौं, वैशाख १६ — देशका विभिन्न भागमा आज तीव्र हावाहुरीसँगै वर्षा हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार सुदूरपश्चिमदेखि कोशी प्रदेशसम्मका जिल्लाहरूमा हावाहुरीको प्रभाव देखिने सम्भावना छ।
विभागले सार्वजनिक गरेको सूचनाअनुसार सुदूरपश्चिमका डडेलधुरा, डोटी, लुम्बिनीका बर्दिया, बाँके, दाङ, अर्घाखाँची, मधेसका धनुषा, बारा तथा कोशी प्रदेशको मोरङलगायत क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्न सक्ने देखिएको छ। यस कारण सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज साँझ करिब ५:४५ बजेदेखि हावाहुरी सुरु भई भोलि बिहान ७:४५ बजेसम्म रहने अनुमान गरिएको छ। मेघगर्जन, चट्याङ, असिना र वर्षासहितको मौसम प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने भएकाले देशका धेरै स्थानमा यसको असर पर्नेछ।
त्यस्तै, देशभर चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुने तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि प्रभाव देखिनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा पनि अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली रही मेघगर्जनसहित वर्षा जारी रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।
विभागले विशेष गरी हावाहुरी, चट्याङ र सम्भावित जोखिमबाट जोगिन सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ।
सुदूरपश्चिमदेखि कोशीसम्म हावाहुरी र वर्षाको चेतावनी
Leave a Comment
Leave a Comment

