इरानमा आन्दोलनमा सहभागी युवकलाई फाँसी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१८ वैशाख, काठमाडौं । इरान मा सरकारविरोधी आन्दोलनमा सहभागी भएको आरोपमा एक युवकलाई फाँसी दिइएको छ।
इस्फहानका २१ वर्षीय सासन आजादवर जोगानीलाई प्रदर्शनका क्रममा पक्राउ गरेर मृत्युदण्ड दिइएको हो। उनलाई जनवरी महिनामा सरकारविरोधी प्रदर्शनका क्रममा पक्राउ गरिएको थियो।
बीबीसी का अनुसार उनलाई इस्फहानस्थित दस्तगर्द कारागारमा फाँसी दिइएको हो। इरानी न्यायपालिकाले प्रदर्शनका क्रममा उनले सरकारी अधिकारीहरू सवार मिनीबसमा ढुंगा तथा लाठी प्रहार गरेको, सवारी साधनमा क्षति पुर्‍याएको र अधिकारीहरूमाथि आक्रमण गरेको आरोप लगाएको छ।
न्यायपालिकाको दाबी अनुसार उनले सरकारविरोधी गतिविधिमा संलग्न भई शासन सत्ता ढाल्ने उद्देश्यले अन्यलाई समेत प्रदर्शनमा उत्रिन उक्साएको स्वीकार गरेका थिए।
फाँसीपछि उनको अन्तिम संस्कार कडा सुरक्षा व्यवस्थाबीच ‘सुरक्षित क्षेत्र’ मा गरिएको जनाइएको छ। उक्त कार्यक्रममा १० जना नजिकका आफन्तलाई मात्र सहभागी हुन अनुमति दिइएको थियो।

Leave a Comment