काठमाडौं, साउन २१ — जर्मनीको लाइपजिग–हाले विमानस्थलमा युक्रेनी कार्गो विमान नजिकै विस्फोटक पदार्थ जडान गरिएको ड्रोन फेला परेको छ। सोही क्रममा एउटा विमान उडान भर्ने क्रममा अज्ञात वस्तुसँग ठोक्किए पनि सुरक्षित रूपमा अवतरण गर्न सफल भएको अधिकारीहरूले बताएका छन्।
घटनापछि केही घण्टासम्म विमानस्थलमा आउने उडानहरू अन्य विमानस्थलतर्फ मोडिएका थिए। जर्मन प्रहरीले बम निष्क्रिय पार्ने टोलीको सहयोगमा ड्रोनमा जडान गरिएको विस्फोटक उपकरण सुरक्षित रूपमा निष्क्रिय पारेको जनाएको छ।
पूर्वी जर्मनीस्थित लाइपजिग–हाले विमानस्थल जर्मन सेना, नेटो तथा युक्रेनको एन्टोनोभ एयरलाइन्सका लागि महत्त्वपूर्ण ढुवानी केन्द्र मानिन्छ। घटनास्थलमा बम निष्क्रिय पार्ने रोबोट परिचालन गरिएको भिडियो सार्वजनिक भएको छ।
जर्मनीका लागि युक्रेनका राजदूत ओलेक्सी माकियेले घटनामा रुसको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन्। तर जर्मन अधिकारीहरूले हालसम्म रुसको प्रत्यक्ष संलग्नता पुष्टि गर्ने कुनै प्रमाण सार्वजनिक गरेका छैनन्। रुसले पनि घटनाबारे तत्काल प्रतिक्रिया दिएको छैन।
प्रहरीका अनुसार मध्यरातपछि विमानस्थल नजिक मानवरहित हवाई उपकरण (यूएभी) देखिएपछि केही उडानहरू अन्यत्र मोडिएका थिए। त्यसपछि दक्षिणी धावनमार्गमा शंकास्पद वस्तु फेला परेपछि अनुसन्धान सुरु गरिएको थियो। बम निष्क्रिय पार्ने टोलीले ड्रोनमा जडान गरिएको डेटोनेटर सुरक्षित रूपमा हटाएको जनाएको छ।
जर्मन सञ्चारमाध्यमका अनुसार चार रोटर भएको उक्त ड्रोनमा ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ एन्ड इन्सेन्डियरी डिभाइस (आईईआईडी)’ जडान गरिएको थियो। अज्ञात वस्तुसँग ठोक्किएको डीएचएलको कार्गो विमानलाई पछि हानोभर विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो। विमानको अगाडिको भागमा सामान्य क्षति पुगेको प्रहरीले पुष्टि गरेको छ।
हाल विमानस्थलको नियमित सेवा पुनः सञ्चालनमा आइसकेको भए पनि अनुसन्धान जारी रहेकाले उत्तरी धावनमार्ग मात्र प्रयोग भइरहेको छ। जर्मनीको आतंकवादविरोधी इकाइले ड्रोन उडाउने व्यक्तिको खोजी गरिरहेको छ।
युक्रेन युद्ध सुरु भएयता जर्मनीसहित युरोपका विभिन्न देशमा विमानस्थल, सैन्य अड्डा र औद्योगिक क्षेत्रमा शंकास्पद ड्रोन देखिने घटना बढ्दै गएका छन्। जर्मनीले यस्ता घटनालाई रुससँग सम्बन्धित तोडफोड र जासुसी गतिविधिसँग जोडेर हेर्दै आएको भए पनि रुसले ती आरोप अस्वीकार गर्दै आएको छ।
यसअघि सन् २०२४ को जुलाईमा पनि लाइपजिग विमानस्थलमा डीएचएलको कार्गो विमानमा लोड गर्न लागिएको पार्सलमा आगलागी भएको थियो। साथै गत वर्ष चीनका एक नागरिकलाई उडान तालिका र कार्गो ढुवानीसम्बन्धी संवेदनशील सूचना चीनका लागि जासुसी गर्ने व्यक्तिलाई उपलब्ध गराएको अभियोगमा सजाय सुनाइएको थियो।
जर्मनीको विमानस्थलमा विस्फोटक ड्रोन फेला, रुसमाथि आशंका
Leave a Comment
Leave a Comment

