पश्चिम बंगालमा भाजपा सांसद शुभेन्दु अधिकारीका पीएमाथि गोली प्रहार, मृत्यु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं : भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा)का प्रभावशाली नेता तथा नवनिर्वाचित सांसद शुभेन्दु अधिकारीका निजी सहयोगी (पीए) चन्द्रनाथ रथको गोली हानी हत्या गरिएको छ। घटना उत्तर २४ परगना जिल्लाको मध्यमग्राम क्षेत्रमा मंगलबार राति भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्राप्त विवरणअनुसार मोटरसाइकलमा आएका समूहले चन्द्रनाथ रथ सवार गाडीमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएका रथलाई तत्काल अस्पताल लगिए पनि उपचारका क्रममा चिकित्सकहरूले मृत घोषणा गरेका हुन्।
घटनामा गाडी चालक बुद्धदेव बेरा पनि घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेको बताइएको छ र कोलकातास्थित अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चारवटा मोटरसाइकलमा आएका करिब आठ जना व्यक्तिले योजनाबद्ध रूपमा आक्रमण गरेको आशंका गरिएको छ। घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने हमलाकारीहरूको खोजी तीव्र बनाइएको प्रहरीले जनाएको छ।
शुभेन्दु अधिकारी पछिल्लो समय पश्चिम बंगालको राजनीतिमा चर्चित नाम मानिन्छन्। लामो समय ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेसमा सक्रिय रहेका अधिकारी हालै भाजपा प्रवेश गरेका थिए। हालै सम्पन्न विधानसभा निर्वाचनमा उनले ममता बनर्जीलाई पराजित गरेपछि उनको राजनीतिक प्रभाव थप बढेको थियो।
यसैबीच पश्चिम बंगालमा भाजपाले पहिलो पटक स्पष्ट बहुमतसहित सरकार गठनको तयारी गरिरहेका बेला अधिकारीनिकट व्यक्तिको हत्या भएपछि राजनीतिक वृत्तमा तनाव बढेको छ। भाजपा कार्यकर्ताले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

Leave a Comment