गगनकुमार थापाको नेतृत्वमा कांग्रेस फेरि उठ्नेछ : सह–महामन्त्री फरमुल्लाह मंसुर

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, २७ पुस — नेपाली कांग्रेसका सह–महामन्त्री फरमुल्लाह मंसुरले विशेष महाधिवेशनले नयाँ नीति र नयाँ नेतृत्व चयन गर्दै पार्टीलाई पुनः उठाउने दाबी गरेका छन्। आइतबार काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गगनकुमार थापाको नेतृत्वमा कांग्रेस नयाँ दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे।

‘विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। गगनकुमार थापाको नेतृत्वमा कांग्रेस फेरि उठ्नेछ,’ मंसुरले भने। उनले अझै पनि पार्टी सभापति शेरबहादुर देउवा उपस्थित भएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखे।

भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन सत्र चलिरहँदा साँझ ५ बजेसम्म २ हजार ३५ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन्। विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार बिहान ८ बजेदेखि नाम दर्ता प्रक्रिया सुरु भएको हो। महाधिवेशन स्थलको मूल गेट नजिकै रहेको स्टलबाट नाम दर्ता भइरहेको छ भने दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन्। सभापतिसहित संस्थापन पक्षले नियमित महाधिवेशनमा ढिलाइ गरेपछि विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको माग अघि बढाइएको नेताहरूको भनाइ छ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य प्रदीप पौडेलले विशेष महाधिवेशन पार्टी फुटाउन नभई विधानले व्यवस्था गरेको वैधानिक प्रक्रिया भएको स्पष्ट पारे। ‘महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दा उहाँहरूलाई अपमान गरेर पार्टी फुटाउन लाग्यो भन्न पाइँदैन,’ उनले भने। समयमै नियमित महाधिवेशन गर्न नसक्नु नेतृत्वको कमजोरी भएको उनको टिप्पणी थियो।

कांग्रेसमा देशभरबाट ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्। अहिले पनि महाधिवेशन स्थलमा पुगेका प्रतिनिधिहरूले नाम दर्ता गरी परिचयपत्र लिने क्रम जारी छ।

विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व, नयाँ नीति र संगठनात्मक पुनर्संरचनाको बहस सुरु भएको नेताहरूको भनाइ छ। सह–महामन्त्री मंसुरले कांग्रेस केवल एउटा राजनीतिक दल नभई देशका सबै बेथितिविरुद्धको अभियान भएको उल्लेख गर्दै विशेष महाधिवेशनबाट पार्टीलाई नयाँ उचाइमा पुर्‍याइने विश्वास व्यक्त गरे।

Leave a Comment