किएभमा थप आक्रमणको चेतावनी, विदेशीलाई सहर छोड्न रूसको आग्रह

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं : रुसले युक्रेनको राजधानी किएभमा थप सैन्य आक्रमण गर्ने चेतावनी दिँदै त्यहाँ रहेका विदेशी नागरिक, कूटनीतिज्ञ तथा अन्तर्राष्ट्रिय संस्थाका कर्मचारीलाई तत्काल सहर छोड्न आग्रह गरेको छ।
रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा युक्रेनी सैन्य तथा औद्योगिक संरचनामाथि लक्षित आक्रमणलाई अझ तीव्र बनाइने उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार आगामी आक्रमणमा निर्णय केन्द्र, कमान्ड पोस्ट तथा रणनीतिक संरचनालाई मुख्य निशाना बनाइनेछ।
गत साताको अन्त्यमा रुसले किएभसहित विभिन्न क्षेत्रमा ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको थियो। उक्त हमलामा कम्तीमा चार जनाको मृत्यु भएको तथा दर्जनौँ घाइते भएको जनाइएको छ। आक्रमणका कारण आवासीय भवन र भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको बताइएको छ।
मस्कोले ‘ओरेश्निक’ नामक हाइपरसोनिक मिसाइल प्रयोग गरिएको पुष्टि गरेको छ। ध्वनिको गतिभन्दा करिब १० गुणा तीव्र गतिमा उड्न सक्ने यो मिसाइल आणविक हतियार बोक्न सक्षम रहेको दाबी गरिएको छ।
रुसले केही दिनअघि आफ्नो नियन्त्रणमा रहेको लुगान्स्क क्षेत्रमा भएको आक्रमणमा २१ जनाको मृत्यु भएको आरोप युक्रेनमाथि लगाएको थियो। त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिकारात्मक कदम चाल्न सेनालाई निर्देशन दिएको बताइएको छ।
यसअघि पनि रुसले विदेशी नागरिक तथा कूटनीतिज्ञलाई किएभ छाड्न आग्रह गरेको थियो। युक्रेन–रुस युद्ध सन् २०२२ फेब्रुअरीदेखि जारी छ र यसलाई दोस्रो विश्वयुद्धपछिको युरोपकै सबैभन्दा घातक युद्धका रूपमा हेरिएको छ।

Leave a Comment