धनगढी : नेपाली कांग्रेसका नेता गगनकुमार थापा ले राष्ट्रियता, सुशासन र अर्थतन्त्र सुधारका विषयमा आफ्नो पार्टी सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।
सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले राष्ट्रिय हितका सवालमा कांग्रेसले सधैं जिम्मेवार भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। उनले सरकारको राम्रो काममा सहयोग रहने तर लोकतान्त्रिक मूल्य र संवैधानिक मर्यादाविपरीतका गतिविधि भने स्वीकार्य नहुने स्पष्ट पारे।
उनले लोकतन्त्रमा केवल कानुनी आधार मात्रै नभई नैतिक वैधतासमेत महत्वपूर्ण हुने धारणा राखे। विगतका राजनीतिक घटनाक्रम स्मरण गर्दै थापाले शक्ति र सङ्ख्या हुँदाहुँदै पनि कांग्रेसले गलत अभ्यासलाई प्रोत्साहन नगरेको दाबी गरे।
पार्टीभित्रको संगठन सुदृढीकरणमा जोड दिँदै उनले नेता तथा कार्यकर्तालाई निराश मानसिकता त्यागेर जिम्मेवारीपूर्वक संगठन निर्माणमा लाग्न आग्रह गरे। निर्वाचनमा पार्टीविरुद्ध गतिविधि गर्नेहरूलाई केही समय जिम्मेवारीबाट अलग राखिने संकेतसमेत उनले दिए।
कार्यक्रममा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा ले बदलिएको राजनीतिक परिवेशअनुसार पार्टीले नयाँ सोच र ऊर्जा सहित अघि बढ्नुपर्ने बताए। उनले कांग्रेसलाई केवल राजनीतिक संगठन नभई समाजलाई जोड्ने साझा शक्ति बनाउने आवश्यकता औंल्याए।
महामन्त्री गुरुराज घिमिरे ले पार्टीभित्र पूर्वाग्रहभन्दा माथि उठेर संगठनलाई एकताबद्ध बनाइने बताए। उनले अवसरबाट वञ्चित भएका सक्षम र निष्ठावान् नेता–कार्यकर्ताको उचित मूल्यांकन गरिने धारणा राखे।
यसैगरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन नेतृत्वलाई आग्रह गरे। उनले पूर्वसभापति शेरबहादुर देउवा लगायत अग्रज नेताहरूको सम्मानजनक भूमिकालाई ध्यान दिनुपर्ने बताए।
धनगढीमा जारी उक्त भेला भोलिसम्म सञ्चालन हुने र कार्यक्रममा प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिसँग विभिन्न विषयमा छलफल हुने जनाइएको छ।
राष्ट्रिय हितमा सरकारसँग सहकार्य गर्न कांग्रेस तयार : गगन थापा
Leave a Comment
Leave a Comment





