म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारस्थित पोखरेबगरमा पहिरो खस्दा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृह पुरिएको छ।
पहिरोमा परी आयोजनामा सुरक्षार्थ खटिएका एक सुरक्षा गार्ड बेपत्ता भएका छन् भने एक कामदार घाइते अवस्थामा उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार सोमबार राति करिब ३ बजे विद्युत् गृहको पछाडिपट्टि रहेको ल्यासीको भीरबाट ढुंगासहितको सुक्खा पहिरो खसेको थियो। पहिरोले विद्युत् गृहको केही भाग पुरिनुका साथै त्यहाँ जडान गरिएका उपकरणमा समेत क्षति पुगेको छ।
पहिरोपछि अन्नपूर्ण गाउँपालिका–६ का ५५ वर्षीय सुरक्षा गार्ड दीपक बरुवाल सम्पर्कविहीन भएका छन्। उनको खोजीका लागि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीयवासी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिए।
घटनामा घाइते भएका गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विकलाई उद्धार गरी प्रारम्भिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको प्रहरीले जनाएको छ।
पहिरोको सूचना प्राप्त भएपछि अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीस्थित इलाका प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा बेपत्ता बरुवालको खोजी तथा उद्धार कार्य जारी राखिएको छ।
पहाडको माथिल्लो भागबाट ढुंगासहित आएको सुक्खा पहिरोका कारण विद्युत् गृहमा क्षति पुगेको हो। पहिरोले आयोजनाका महत्वपूर्ण उपकरणमा क्षति पुर्याएपछि घारखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत बन्द भएको छ।
आयोजनाको विद्युत् गृहमा भएको क्षतिको थप विवरण संकलन तथा मूल्यांकन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

