वीरगञ्ज । पर्साको वीरगञ्जमा स्रोत नखुलेको ठूलो रकमसहित चार जना पक्राउ परेका छन्।
प्रहरीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट ५२ लाख ५० हजार रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई रोकेर खानतलासी गर्दा ठूलो परिमाणमा नगद रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार प्रदेश २–०३–००३ प ७२१५ र ना ५७ प ५१८२ नम्बरका मोटरसाइकलमा सवार उनीहरूबाट उक्त रकम बरामद भएको हो।
पक्राउ पर्नेमा भारतको बिहारस्थित सीतामढी जिल्ला डुमरा थाना निवासी २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह, सोही स्थानका २६ वर्षीय सागरकुमार सर्साफ र पर्साको विन्दवासिनी गाउँपालिका–१ का २५ वर्षीय राहुतकुमार गुप्ता रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट १ हजार रुपैयाँ दरका ४ हजार ५ थान, ५ सय रुपैयाँ दरका २ हजार ३ सय ५३ थान, १ सय रुपैयाँ दरका ६ सय ४३ थान र ५० रुपैयाँ दरका ८४ थान नोट बरामद गरेको जनाएको छ।
बरामद भएको रकमको स्रोत खुल्न नसकेको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको छ।

