होर्मुजमा चर्किँदो तनाव : पानामाको कार्गो जहाज रोक्न अमेरिकाले प्रहार गर्‍यो क्षेप्यास्त्र

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौं । इरानमाथि जारी अमेरिका–इजरायल सैन्य कारबाहीका बीच विश्वकै प्रमुख समुद्री व्यापारिक मार्गमध्ये एक स्ट्रेट अफ होर्मुजमा तनाव थप चुलिएको छ। अमेरिकी सेनाले इरानी नाकाबन्दी तोडेर इरानी बन्दरगाहतर्फ अघि बढेको पानामाको झण्डावाहक कार्गो जहाजलाई रोक्न दुईवटा हेलफायर क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ।
अमेरिकी सेनाका अनुसार पटक–पटक चेतावनी दिँदा पनि जहाजले निर्देशन नमानेपछि त्यसको स्टेयरिङ प्रणालीलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरिएको थियो। त्यसपछि जहाजलाई अघि बढ्नबाट रोकिएको जनाइएको छ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार इरानी नाकाबन्दी तोडेर अघि बढेका ५५ वटा व्यावसायिक जहाजलाई हालसम्म मार्ग परिवर्तन गर्न लगाइएको छ। त्यस्तै, तीनवटा जहाजलाई निष्क्रिय पारिएको र दुईवटा जहाजमा अमेरिकी सैनिक प्रवेश गरी नियन्त्रणमा लिइएको सेन्टकमले जनाएको छ।
होर्मुज जलडमरूमध्यबाट विश्वको ठूलो परिमाणमा तेल तथा अन्य वस्तुको कारोबार हुने भएकाले पछिल्लो घटनाले अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा चिन्ता बढाएको छ। इरानले अमेरिकी सैन्य कारबाही र नाकाबन्दीको विरोध गर्दै जलमार्गबाट हुने जहाज आवतजावतमा रोक लगाउँदै आएको छ।
इरानले होर्मुज पुनः खोल्नुअघि अमेरिका–इजरायल युद्ध र नाकाबन्दी अन्त्य गर्नुपर्ने माग गरेको छ। साथै, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने तथा क्षेत्रमा युद्धविराम लागू हुनुपर्ने उसको अडान छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले माग पूरा नभएसम्म होर्मुज बन्द रहने बताएका छन्।
यसैबीच, कतारले ओमान र इरानबीच होर्मुजबाट व्यावसायिक जहाजको आवतजावत पुनः सञ्चालन गर्ने विषयमा भइरहेको वार्ता महत्त्वपूर्ण चरणमा पुगेको जनाएको छ। पूर्वअमेरिकी वरिष्ठ कूटनीतिज्ञ एलन एरकाका अनुसार इरान र ओमानले ६० दिनका लागि अस्थायी रूपमा जहाज आवतजावत व्यवस्थापन गर्ने योजनामा सहमति गरेका छन्। तर उक्त योजना कार्यान्वयनका लागि अमेरिकी सहमति आवश्यक पर्ने उनको भनाइ छ।
मध्यस्थताका लागि पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी तेहरान पुगेका छन्। उनले इरानी राष्ट्रपति मसुद पेजेस्कियान र विदेशमन्त्री अब्बास अराघचीसँग भेटवार्ता गरेका छन्। पाकिस्तानले अमेरिका–इरानबीचको युद्ध अन्त्य गर्न तथा होर्मुजबाट अन्तर्राष्ट्रिय जहाज आवतजावत पुनः सुरु गराउन मध्यस्थता गरिरहेको छ।
यता, यमनका हुथी विद्रोहीले बाब अल–मन्देब जलडमरूमध्यमा सैन्य सामग्री बोकेको साउदी जहाजलाई लक्षित गरेको दाबी गरेका छन्। हुथीसम्बद्ध समाचार संस्थाका अनुसार उक्त आक्रमणमा एउटा व्यावसायिक जहाजमा सवार ६ जनाको मृत्यु भएको र १० जना घाइते भएका छन्। होर्मुजसँगै बाब अल–मन्देबमा पनि तनाव बढेपछि मध्यपूर्वको समुद्री व्यापार थप प्रभावित हुने जोखिम बढेको छ।
यसैबीच, संयुक्त राष्ट्रसंघले कब्जामा रहेको पश्चिम किनाराको सुरक्षा अवस्था पनि गम्भीर बन्दै गएको चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघका उपविशेष संयोजक रामिज अलअकरबका अनुसार यस वर्ष हालसम्म पश्चिम किनारामा ७६ प्यालेस्टिनी मारिएका छन्, जसमध्ये १८ जना बालबालिका रहेका छन्।
उता, इजरायली सेनाले दक्षिणी लेबनानमा आफ्नै सैन्य गतिविधिलाई लक्षित गर्दै गल्तीवश इन्टरसेप्टर प्रक्षेपण गरेको जनाएको छ। पछि उक्त लक्ष्य आफ्नै सेनाको गतिविधि भएको पहिचान गरिएको र घटनामा कोही घाइते नभएको तथा कुनै साइरन पनि नबजेको इजरायली सेनाले जनाएको छ।
होर्मुज र बाब अल–मन्देब दुवै रणनीतिक जलमार्गमा तनाव बढ्दै जाँदा मध्यपूर्वको युद्धले विश्वव्यापी ऊर्जा बजार, समुद्री व्यापार र आपूर्ति शृंखलामाथि थप दबाब पार्न सक्ने चिन्ता बढेको छ।

Leave a Comment