प्रधानमन्त्री अनुपस्थितिप्रति विपक्षी आक्रोशित, नाराबाजीकै बीच सभामुखले चलाए सदन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ : प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रमका लागि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह उपस्थित नभएपछि विपक्षी दलहरूले तीव्र विरोध जनाएका छन्। विपक्षीको नाराबाजी र वेल घेराउकै बीच सभामुख डोलप्रसाद अर्यालले संसद बैठक सञ्चालन गरेका छन्।
प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग एक घन्टा प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था कार्यान्वयन गर्न विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने माग गर्दै आएका छन्। तर प्रधानमन्त्री शाहले हालसम्म उपस्थित हुने विषयमा स्पष्ट प्रतिबद्धता जनाएका छैनन्।
विपक्षीको दबाबपछि सभामुख अर्याल संसद बैठक १५ मिनेटका लागि स्थगित गरेर प्रधानमन्त्री कार्यालय पुगेका थिए। भेटका क्रममा उनले नियमावलीको बाध्यात्मक व्यवस्था उल्लेख गर्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन आग्रह गरेका थिए। तर प्रधानमन्त्री शाहले “कुनै दिन समय मिलाउँला” भन्दै ठोस मिति नदिएको स्रोतले जनाएको छ।
यसअघि प्रधानमन्त्री अनुपस्थितिको विषयमा विपक्षी दलहरूले संसद अवरुद्ध गरेपछि बैठक स्थगित गरिएको थियो। दोस्रोपटक भने सभामुख अर्यालले विपक्षीको नाराबाजी र विरोधकै बीच बैठक अघि बढाएका हुन्। बैठक सञ्चालन भइरहँदा प्रतिपक्षी सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी जारी राखेका छन्।

Leave a Comment