काठमाडौँ : नेपाल राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत अमेरिकाविरुद्ध लगातार दोस्रो जित निकाल्दै घरेलु मैदानको सिरिज सुखद रूपमा टुंग्याएको छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई १ सय २२ रनले पराजित गर्यो। यसअघि भएको पहिलो खेलमा पनि नेपालले अमेरिकालाई ९ विकेटले हराएको थियो।
यो जितसँगै नेपालले सिरिजबाट ६ अंक जोडेको छ। नेपाल अहिले २४ अंकसहित तालिकाको पाँचौँ स्थानमा कायम छ। नेपालले २८ खेलमध्ये ११ खेल जितेको, १५ खेल गुमाएको र २ खेलमा अंक बाँडेको छ। अब नेपालले लिग–२ अन्तर्गत बाँकी ८ खेल विदेशी भूमिमा खेल्नेछ।
नेपालले दिएको ३ सय १८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१ दशमलव २ ओभरमा १ सय ९५ रनमै अलआउट भयो। अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५६ रन बनाए। उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। नोस्तुश केन्जिगेले २९, सायन जहानगिरले २७ तथा सेहान जयसूर्याले २६ रन जोडे। कप्तान मोनांक पटेल २२ रनमा आउट भए भने मिलिन्द कुमारले १२ रन बनाए।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले समान २–२ विकेट लिए भने सोमपाल कामीले १ विकेट हात पारे।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १७ रन बनाएको थियो। यो त्रिवि मैदानमा नेपालको अहिलेसम्मकै उच्च योगफल हो।
नेपालका लागि इशान पाण्डेले सर्वाधिक ८४ रन बनाए। उनले ८३ बलमा ८ चौका र १ छक्का प्रहार गरे। कप्तान रोहित पौडेलले ४६ रन बनाए। इशान र रोहितले तेस्रो विकेटका लागि १ सय १० रनको महत्वपूर्ण साझेदारी गरे।
ओपनर कुशल भुर्तेलले २९ तथा आसिफ शेखले ४३ रन बनाए। दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै ३६ बलमा ५९ रन जोडे, जसमा ४ चौका र ४ छक्का समावेश थिए। गुल्सन झाले १५ रन बनाए। सोमपाल कामी ५ रनमा रनआउट भए।
अमेरिकाका लागि शुभम रञ्जनेले ३ विकेट लिए भने रस्टील उगारकर र मिलिन्द कुमारले समान १–१ विकेट लिए।
अमेरिकामाथि नेपालको लगातार दोस्रो जित, घरेलु सिरिज सुखद अन्त्य
Leave a Comment
Leave a Comment






