बेइजिङ : दक्षिण चीनको ग्वाङडोङ प्रान्तमा लगातार परेको भीषण वर्षापछि बाढीको जोखिम बढ्दै जाँदा १६ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
बुधबारदेखि सुरु भएको मुसलधारे वर्षाले ग्वाङडोङका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित बनेको चिनियाँ अधिकारीहरूले बताएका छन्। प्रान्तीय प्रशासनका अनुसार बिहीबार मध्याह्नसम्म हजारौं नागरिकलाई जोखिमयुक्त क्षेत्रबाट उद्धार गरी सुरक्षित स्थानमा राखिएको हो।
विशेषगरी याङ्जियाङ, जियाङमेन र झुहाई क्षेत्रमा अत्यधिक वर्षा भएको छ। याङ्जियाङका दुई जलविज्ञान केन्द्रमा १ हजार मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको सरकारी तथ्यांकमा उल्लेख छ।
वर्षासँगै बाढी र पहिरोको खतरा बढेपछि स्थानीय प्रशासनले आपत्कालीन प्रतिकार्य संयन्त्र सक्रिय बनाएको छ। प्रभावित क्षेत्रमा उद्धार टोली, राहत सामग्री र सुरक्षाकर्मी परिचालन गरिएको छ।
ग्वाङडोङ प्रशासनले नागरिकको जीउधनको सुरक्षालाई प्राथमिकतामा राखेर जोखिम न्यूनीकरण र उद्धार कार्य तीव्र पारिएको जनाएको छ। अधिकारीहरूले मौसम अझै खराब रहने सम्भावना रहेकाले सतर्क रहन स्थानीयवासीलाई आग्रह गरेका छन्।
दक्षिण चीनको ग्वाङडोङमा भीषण वर्षा, १६ हजारभन्दा बढी मानिस सुरक्षित स्थानमा
Leave a Comment
Leave a Comment






