काठमाडौं । बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर सरकारले पीडित परिवारसँग प्रत्यक्ष छलफल थालेको छ।
गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग गृहमन्त्री सुधन गुरुङसहित गृह मन्त्रालयको टोलीले शनिबार मन्त्रालयमा छलफल सुरु गरेको हो। पीडित परिवार न्यायको माग गर्दै बाराबाट काठमाडौं पुगेपछि सरकारले उनीहरूसँग घटनाबारे छलफल थालेको मन्त्रालयले जनाएको छ।
छलफलमा कानुनमन्त्री सोविता गौतम र कृषिमन्त्री गीता चौधरीसमेत सहभागी भएका छन्। पीडित परिवारसँग घटनाको अवस्था, अनुसन्धान तथा दोषीमाथि हुने कानुनी कारबाहीलगायत विषयमा छलफल भइरहेको बताइएको छ।
गरिमाको न्यायका लागि बारा, काठमाडौंलगायत देशका विभिन्न स्थानमा प्रदर्शन जारी छ। बाराको सिमरा क्षेत्रमा स्थानीयवासीले वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध गर्दै धर्ना र प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
यसअघि स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि र जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा आन्दोलनरत पक्षसँग पाँचबुँदे सहमति भएको थियो। तर, गरिमाका परिवारले उक्त सहमतिमा आफ्नो सहभागिता र सहमति नरहेको जनाउँदै आन्दोलनलाई निरन्तरता दिएका छन्।
गरिमा साउन ३१ गते बिहानदेखि सम्पर्कविहीन भएकी थिइन्। खोजीका क्रममा भदौ २ गते घरनजिकैको एक घरमा उनको शव फेला परेको थियो। घटनापछि बालिकामाथि बलात्कार गरी हत्या गरिएको भन्दै दोषीलाई कडा कारबाहीको माग गर्दै देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन हुँदै आएको छ।

