बेल्जियम क्वार्टरफाइनलमा, अमेरिकालाई ४–१ ले हराउँदै आयोजक राष्ट्रको यात्रा पनि समाप्त

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असार २३ — फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा बेल्जियमले संयुक्त राज्य अमेरिकालाई ४–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ।
खेलको नवौं मिनेटमै चार्ल्स डे केटेलारेले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। ३१औँ मिनेटमा अमेरिकाका म्यालिक टिलम्यानले गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याए पनि त्यसको दुई मिनेटपछि डे केटेलारेले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए।
दोस्रो हाफमा बेल्जियमले खेलमाथि पकड कायम राख्यो। ५७औँ मिनेटमा हान्स भानाकेनले तेस्रो गोल गरे भने इन्जुरी समयको तेस्रो मिनेटमा रोमेलु लुकाकुले गोल थप्दै ४–१ को जित पक्का गरे।
यस जितसँगै बेल्जियम अन्तिम आठमा प्रवेश गरेको छ भने अमेरिका प्रतियोगिताबाट बाहिरिएको छ।
अमेरिकाको हारसँगै फिफा विश्वकप २०२६ का तीनै आयोजक राष्ट्रको यात्रा समाप्त भएको छ। यसअघि क्यानडा र मेक्सिको पनि नकआउट चरणबाट बाहिरिसकेका थिए।
विश्वकपअन्तर्गत आज राति अर्जेन्टिना र इजिप्ट तथा कोलम्बिया र स्विट्जरल्यान्डबीच क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ।

Leave a Comment