ट्रम्पसँग भेट्न ह्वाइट हाउस जाने तयारीमा लेबनानी राष्ट्रपति आउन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, असार २३ — लेबनानका राष्ट्रपति जोसेफ आउनले यही जुलाई महिनाको अन्त्यअघि अमेरिकाको भ्रमण गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटवार्ता गर्ने तयारी भइरहेको बताएका छन्। इजरायलसँग प्रस्तावित समझदारीलाई अघि बढाउने उद्देश्यले भ्रमणको तयारी गरिएको जनाइएको छ।
आइतबार राष्ट्रपति ट्रम्पसँग भएको करिब १७ मिनेट लामो टेलिफोन संवादपछि भ्रमणको तयारीले गति लिएको हो। राष्ट्रपति आउनले उक्त संवादलाई सकारात्मक र रचनात्मक भएको प्रतिक्रिया दिएका छन्।
लेबनानी दैनिक अन–नहार लाई दिएको अन्तर्वार्तामा आउनले प्रस्तावित समझदारी पूर्ण रूपमा आदर्श नभए पनि दक्षिण लेबनानको वर्तमान सुरक्षा अवस्था र शक्ति सन्तुलनलाई ध्यानमा राख्दै यसलाई व्यावहारिक रूपमा अघि बढाउन आवश्यक रहेको बताएका छन्। उनले हालको शक्ति सन्तुलन इजरायलको पक्षमा रहेको स्वीकार गर्दै पनि लेबनानले आफ्नो सार्वभौमिक अधिकार र कब्जामा रहेका भूभाग फिर्ता ल्याउने प्रयासलाई निरन्तरता दिने स्पष्ट पारे।
उनका अनुसार लेबनानी पक्षले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसमक्ष विवादित पहाडी क्षेत्र लेबनानी सेनाकै नियन्त्रणमा रहने व्यवस्था सुनिश्चित गर्न आग्रह गरेको थियो। राष्ट्रपति आउनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि उक्त प्रस्तावमा सहमति जनाएको दाबी गरेका छन्।
यसैबीच, अमेरिकी कंग्रेस सदस्य डेलिया रामिरेजले गाजास्थित कमाल अदवान अस्पतालका निर्देशक डा. हुस्साम अबु सफियालाई तत्काल रिहा गर्न माग गरेकी छन्।
इजरायली सेनाले सन् २०२४ डिसेम्बर २७ मा पक्राउ गरेका डा. अबु सफिया १८ महिनादेखि कुनै औपचारिक आरोप वा मुद्दाबिनै हिरासतमा रहेको बताइएको छ। रामिरेजले हिरासतका क्रममा भएको कुटपिटका कारण उनको स्वास्थ्य गम्भीर रूपमा बिग्रिएको भन्दै तत्काल मानवीय आधारमा रिहा गर्न आग्रह गरेकी हुन्।
डा. अबु सफियाका कानुनी प्रतिनिधि नासेर ओदेहले पनि चिकित्सकको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको र उनको ज्यान जोखिममा रहेको चेतावनी दिएका छन्।

Leave a Comment