अमेरिकामा शक्तिशाली हिउँआँधीको कहर: ३० जनाको मृत्यु, लाखौँ प्रभावित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ | माघ १३, २०८२ — अमेरिकाका विभिन्न राज्यमा आएको शक्तिशाली हिउँआँधी र चिसो हावाको प्रभावले कम्तीमा ३० जनाको ज्यान गएको छ भने पाँच लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन्। व्यापक हिमपात, चिसो वर्षा, असिना र तीव्र हावाले देशका धेरै भागमा जनजीवन अस्तव्यस्त बनेको छ।

न्यु मेक्सिकोदेखि मेन राज्यसम्म फैलिएको आँधी प्रणालीले विशेषगरी उत्तरी तथा मध्य भागमा गम्भीर प्रभाव पारेको छ। मौसमविद्हरूका अनुसार आर्कटिक क्षेत्रबाट आएको अत्यधिक चिसो हावाका कारण उद्धार, यातायात र पुनःस्थापना कार्यमा समेत अवरोध उत्पन्न भएको छ।

अमेरिकी राष्ट्रिय मौसम सेवाले फेब्रुअरी १ सम्म देशको उत्तरी क्षेत्रमा तापक्रम निरन्तर शून्य डिग्री सेल्सियसभन्दा तल रहने चेतावनी दिएको छ। दक्षिणी राज्यहरूमा समेत असामान्य चिसो अनुभव गरिएको छ, जहाँ न्यूनतम तापक्रमका नयाँ कीर्तिमान कायम भएका जनाइएको छ।

उत्तरपूर्वी क्षेत्रमा भारी हिमपात जारी रहँदा कनेक्टिकटमा २२ इन्चभन्दा बढी र बोस्टनमा १६ इन्चभन्दा बढी हिउँ जमेको बताइएको छ। यसले सडक यातायात, उडान सेवा र आपूर्ति प्रणालीमा ठूलो अवरोध पुर्‍याएको छ।

आँधीसँग सम्बन्धित घटनाहरूमा हाइपोथर्मिया, सवारी दुर्घटना तथा हिमपातजन्य अन्य दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बढेको अधिकारीहरूले जनाएका छन्। मेन राज्यको बाङ्गोर क्षेत्रमा उडान भर्ने क्रममा सानो विमान दुर्घटनाग्रस्त हुँदा सात जनाको मृत्यु भएको छ।

मंगलबार बिहानसम्म पाँच लाख ४० हजारभन्दा बढी उपभोक्ता विद्युत् सेवाविहीन रहेका छन्। टेनेसी, टेक्सास, मिसिसिपी र लुइसियाना राज्यहरू सबैभन्दा बढी प्रभावित भएको जनाइएको छ। देशभर ९ हजारभन्दा बढी उडानहरू रद्द वा ढिलाइ भएका छन्।

अधिकारीहरूले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न, अत्यधिक चिसोबाट जोगिन र आधिकारिक सूचनामात्रै अनुसरण गर्न आग्रह गरेका छन्।

Leave a Comment