प्रशिक्षार्थी चिकित्सकको गुनासो : ‘३६ घण्टे ड्युटीले भविष्य र स्वास्थ्य दुवै संकटमा’

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, जेठ ३० — श्रम अधिकार र कार्यस्थल सुधारको माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरू शनिबार माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले निरन्तर ३६ घण्टासम्म काम गर्नुपर्ने व्यवस्था अन्त्य गर्न तथा श्रम ऐन पूर्ण रूपमा लागू गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेका हुन्।
प्रदर्शनमा सहभागी चिकित्सकहरूले आफूहरूलाई हप्तामा एक दिन पनि नियमित बिदा नदिइने, दैनिक कार्यसमय अत्यधिक हुने र विश्रामबिनै लामो समय ड्युटी गर्न बाध्य पारिने गरेको बताएका छन्। उनीहरूको भनाइमा यस्तो अवस्थाले चिकित्सकको स्वास्थ्य, मनोबल र सेवा प्रवाहमा समेत असर पुर्‍याइरहेको छ।
आन्दोलनका क्रममा प्रशिक्षार्थी चिकित्सकहरूले चिकित्सा शिक्षामा अध्ययनरत तथा सेवा दिइरहेका युवामाथि श्रम शोषण भइरहेको आरोप लगाए। उनीहरूले शिक्षण अस्पताल र सम्बन्धित निकायहरूले प्रशिक्षणको नाममा अत्यधिक काम गराएर आधारभूत श्रमिक अधिकारसमेत बेवास्ता गरेको गुनासो गरे।
प्रदर्शनकारी चिकित्सकहरूको मुख्य मागमा ३६ घण्टे ड्युटी प्रणाली खारेज, दैनिक अधिकतम १२ घण्टा कार्यसमय, हप्तामा कम्तीमा एक दिन बिदा, मातृत्व बिदालगायत श्रमिक अधिकारको सुनिश्चितता तथा प्रशिक्षार्थी चिकित्सकलाई श्रम ऐनको दायरामा ल्याउने विषय रहेका छन्।
माइतीघरमा आयोजित प्रदर्शनमा सहभागीहरूले स्वास्थ्य क्षेत्रभित्रको श्रम शोषण अन्त्य गर्नुपर्ने, चिकित्सकको कार्यअवस्था सुधार गर्नुपर्ने तथा युवा स्वास्थ्यकर्मीको अधिकार संरक्षण गर्नुपर्ने माग राख्दै विभिन्न नारासहित विरोध जनाएका थिए।
चिकित्सकहरूले आफ्ना माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्।

Leave a Comment