काठमाडौं, असार ४ — लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै आएका पूर्वसभामुख कृष्णबहादुर महरा ले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका छन्।
बिहीबार जारी गरेको वक्तव्यमार्फत महराले स्वास्थ्य अवस्थाका कारण अब पार्टीको सक्रिय जिम्मेवारीमा रहन नसक्ने निष्कर्षमा पुगेको बताएका हुन्। उनले पार्टीको साधारण सदस्यका रूपमा भने निरन्तर रहने स्पष्ट पारेका छन्।
करिब पाँच दशकदेखि वामपन्थी राजनीतिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका महराले आफू नसा तथा मांसपेशीसँग सम्बन्धित ‘एट्रोफी’ रोगबाट पीडित रहेको उल्लेख गरेका छन्। नियमित उपचार, थेरापी तथा औषधि सेवनका बाबजुद स्वास्थ्यमा अपेक्षित सुधार नआएको र सक्रिय राजनीतिक जिम्मेवारी निर्वाह गर्न कठिन भएको उनको भनाइ छ।
महराले आफ्नो निर्णयलाई कुनै राजनीतिक असन्तुष्टि, वैचारिक मतभेद वा संगठनभित्रको विवादसँग नजोड्न आग्रह गरेका छन्। स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिका कारण मात्रै सक्रिय राजनीतिबाट विश्राम लिनुपरेको उनले बताएका छन्।
पूर्वसभामुख महराको यो घोषणासँगै नेपाली राजनीतिमा लामो समय योगदान दिएका एक अनुभवी नेताको सक्रिय राजनीतिक यात्रा औपचारिक रूपमा विश्राममा पुगेको छ।
स्वास्थ्य समस्याका कारण कृष्णबहादुर महराको सक्रिय राजनीतिबाट बिदाइ
Leave a Comment
Leave a Comment






