निर्वाचन खर्च पारदर्शिताका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, माघ १३ — नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि आवश्यक बैंक खाता खोल्ने व्यवस्था मिलाउन देशभरका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले औपचारिक पत्र जारी गर्दै यस्तो प्रबन्ध मिलाउन भनेको हो।

निर्देशनअनुसार आयोग मातहतका प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसका आधारमा खाता खोल्न सकिनेछ। ती खाताहरू निर्वाचन आयोगले बन्द गर्न निर्देशन नदिएसम्म सञ्चालनमा रहने जनाइएको छ।

राष्ट्र बैंकले आम निर्वाचन अभियानसँग सम्बन्धित आम्दानी–खर्चको कारोबार नेपाली मुद्रामा पारदर्शी रूपमा सञ्चालन गर्न मिल्ने गरी खाता खोल्ने व्यवस्था गर्न आग्रह गरेको छ।

यसैगरी, प्रत्येक राजनीतिक दल, सो दलका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार, साथै स्वतन्त्र उम्मेदवारका लागि छुट्टाछुट्टै खाता खोल्नुपर्ने व्यवस्था मिलाउन पनि केन्द्रीय बैंकले स्पष्ट निर्देशन दिएको छ।

यो व्यवस्थाले निर्वाचन खर्चको लेखाजोखा व्यवस्थित बनाउन र वित्तीय पारदर्शिता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a Comment