काठमाडौं — विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को अन्तिम खेलमा सहआयोजक अमेरिका टर्कीसँग पराजित भएको छ। रोमाञ्चक प्रतिस्पर्धामा टर्कीले अमेरिकालाई ३–२ गोलले हराउँदै प्रतियोगितामा सान्त्वना जित निकालेको हो।
लस एन्जलसस्थित सोफाइ स्टेडियममा भएको खेलमा ७० हजार ४९२ दर्शकको उपस्थितिमा टर्कीले अतिरिक्त समयको अन्तिमतिर निर्णायक गोल गर्दै सनसनीपूर्ण जित हात पारेको हो।
खेलको सुरुवातमै अमेरिका अघि बढेको थियो। तेस्रो मिनेटमा अस्टन ट्रस्टीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। तर टर्कीले छिट्टै खेलमा फर्किँदै १०औँ मिनेटमा आर्दा गुलेरको गोलमार्फत बराबरी गर्यो।
पहिलो हाफको ३१औँ मिनेटमा बारिस अल्पेर यिल्माजले गोल गरेपछि टर्कीले २–१ को अग्रता बनायो।
दोस्रो हाफमा अमेरिकाले पुनरागमन गर्दै ४९औँ मिनेटमा सेबास्टियन बर्हाल्टरको गोलबाट खेल २–२ को बराबरीमा ल्यायो।
खेल बराबरीतर्फ अघि बढिरहेका बेला इन्जुरी समयको ९०+८ मिनेटमा कान आयहानले निर्णायक गोल गर्दै टर्कीलाई ३–२ को जित दिलाए।
यसअघि नै लगातार दुई खेल जितेर नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको अमेरिकाले यस खेलमा केही वैकल्पिक खेलाडीलाई मैदान उतारेको थियो। हारका बाबजुद अमेरिका समूह ‘डी’ को विजेता बन्दै अर्को चरणमा पुगेको छ।
यता टर्कीको विश्वकप यात्रा भने समूह चरणमै समाप्त भएको छ। नकआउट चरणमा अमेरिकाले अब बोस्निया र हर्जगोभिनासँग प्रतिस्पर्धा गर्नेछ।
अमेरिकालाई स्तब्ध पार्दै टर्कीको रोमाञ्चक जित
Leave a Comment
Leave a Comment






