काठमाडौं, असोज २३
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन असंवैधानिक भएको बताउँदै यसको पुनर्स्थापनाका लागि पार्टी सडक संघर्षमा जाने घोषणा गरेका छन्।
भक्तपुरको गुण्डुमा आयोजित पार्टी कार्यक्रममा उनले लोकतन्त्र र संविधानको रक्षा गर्न अब निर्णायक कदम चाल्नुपर्ने बताएका हुन्। ओलीले भने, “संसद् विघटन असंवैधानिक, गलत र अलोकतान्त्रिक कदम हो। यो देश हितविपरीत गरिएको निर्णय हो, त्यसका विरुद्ध हामी अब पर्खंदैनौं।”
उनका अनुसार अब नेपाली जनता पनि संसद् पुनर्स्थापनाको पक्षमा सडकमा उत्रिनेछन्। “हामी अघि बढ्ने बेला आएको छ। जनता आन्दोलनको आँधीबेहरीका साथ अघि बढ्नेछन्,” ओलीले भने।
कार्यक्रममा उनले सुशीला कार्कीले प्रधानमन्त्री बन्न अडान लिएको प्रसंग उठाउँदै राजनीतिक सहमतिको मार्गबाट निकास खोज्न सकिने बेला संसद् विघटन गरिएको आरोप लगाए। ओलीले भने, “संविधान र संसद् कायम राखेर निकास खोज्ने कुरा सबै पक्षबीच सहमतिमा थियो, तर त्यसलाई तोड्दै असंवैधानिक ढंगले संसद् भंग गरियो।”
उनले राजनीतिक दलहरूलाई पन्छाएर वार्ता र सरकार निर्माणका नाममा खेल खेलिएको दाबी गर्दै, संसद् पुनर्स्थापनाको एजेन्डामा नेपाली कांग्रेससहित अन्य दलहरूको पनि समर्थन रहने विश्वास व्यक्त गरे।



Leave a Reply