मधेशका स्वास्थ्यकर्मीहरू श्रमशोषण अन्त्यका लागि आन्दोलित, कात्तिक १६ देखि अस्पताल खाली गर्ने चेतावनी
२७ असोज, बारा ।
मधेश प्रदेशका निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूले श्रमशोषण, असमान व्यवहार र दमनको अन्त्यको माग गर्दै आगामी कात्तिक १६ गतेदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
धनुषासहितका जिल्लाका स्वास्थ्यकर्मीहरूले आइतबार पत्रकार सम्मेलन गरी आफूहरू वर्षौंदेखि न्यून तलब, असुरक्षित कार्य वातावरण र अन्यायपूर्ण व्यवहार सहन बाध्य भएको बताए। उनीहरूले नेपाल सरकारको कानुनअनुसार तलब स्केल लागू गर्नुपर्ने र श्रम ऐनअनुसारका सबै सुविधा उपलब्ध गराउनुपर्ने माग गरेका छन्।
आन्दोलनरत स्वास्थ्यकर्मीहरूले सरकार र सम्बन्धित निकायका लागि आठ बुँदे माग सार्वजनिक गरेका छन्। ती मागहरूमा —
नेपाल सरकारको तलब स्केल अनुसार पारिश्रमिक लागू गर्नुपर्ने,
सरकारी करारकर्मी हटाई लोकसेवा आयोगमार्फत विज्ञापन गर्नुपर्ने,
स्वास्थ्यकर्मीको बीमा र सुरक्षाको व्यवस्था गर्नुपर्ने,
साप्ताहिक कार्यघण्टा ४२ घण्टाभन्दा बढी नहुने सुनिश्चितता,
स्वास्थ्यकर्मीको परिवारलाई निःशुल्क उपचार सुविधा,
बिदा र भत्ताको प्रावधान,
हरेक वर्ष कम्तीमा १० प्रतिशत तलब वृद्धि, र
निजी तथा सरकारी अस्पतालमा समान विज्ञापन प्रणाली लागू गर्नुपर्ने — माग समावेश छन्।
स्वास्थ्यकर्मी नरेश अधिकारीले भने, “मन्त्रालय र प्रशासन निकायले पटक-पटक ध्यानाकर्षण गराए पनि कुनै ठोस कदम नचालिएकोले अब बाध्य भएर आन्दोलनको बाटो लिनुपरेको हो।”
उनका अनुसार माग पूरा नभए कात्तिक १६ गते आइतबारदेखि सम्पूर्ण मधेश प्रदेशभरका स्वास्थ्यकर्मीहरूले अस्पताल खाली गरी आन्दोलन सुरु गर्नेछन्।
स्वास्थ्यकर्मीहरूले चेतावनी दिएका छन् कि आन्दोलनका कारण बिरामी सेवामा समस्या उत्पन्न भए त्यसको सम्पूर्ण जिम्मेवारी अस्पताल सञ्चालक र सम्बन्धित मन्त्रालयले लिनुपर्नेछ।



Leave a Reply