छतमा कपडा सुकाउँदा तल घर फोडियो, बौद्धमा महँगो चोरी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २१ माघ — काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालस्थित एक घरमा दिउँसै ठूलो चोरी भएको छ। घटनामा एक करोड रुपैयाँभन्दा बढी मूल्यका सुनचाँदीका गरगहना चोरी भएका छन्।

प्रहरीका अनुसार टुसालका रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबर का विभिन्न गरगहना हराएका हुन्। मंगलबार दिउँसो घरधनी कपडा धोएर छतमा सुकाउन गएका बेला घर खाली भएको मौका छोपी चोरी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले करिब एक घण्टाको अन्तरालमा घटना भएको देखिएको जानकारी दिए। उनका अनुसार, “घरधनी छतमा गएको समय पारेर चोरी भएको प्रारम्भिक अनुमान छ, घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।”

घटनाको अनुसन्धान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त रूपमा अघि बढाएका छन्। प्रहरीले चोरीमा संलग्न व्यक्तिको पहिचान तथा पक्राउका लागि अनुसन्धान तीव्र बनाएको जनाएको छ।

Leave a Comment