काठमाडौं, असार २७ — काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा निधन भएको छ।
वीर अस्पतालमा उपचाररत राउतको केहीबेरअघि मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डा. पियुष दाहालले जानकारी दिएका छन्।
प्रहरीका अनुसार राउतले छोरासँग भएको पारिवारिक विवादपछि काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित डेराको भान्सामा शरीरमा आगो लगाएका थिए। घटनापछि उनलाई तत्काल उद्धार गरी वीर अस्पताल पुर्याइएको थियो। अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो।
यसअघि बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका गणेश नेपालीको पनि उपचारकै क्रममा शुक्रबार निधन भएको थियो।
यस्तै, सर्लाहीमा आत्मदाहको प्रयास गरेका ४२ वर्षीय विवेक मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।
पछिल्ला केही दिनयता आत्मदाहका प्रयाससँग सम्बन्धित घटनाहरू बढ्दै गएको देखिएको छ। यस्ता घटनाबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन्।
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको उपचारकै क्रममा मृत्यु
Leave a Comment
Leave a Comment

