सर्लाही गोलीकाण्डका घाइते सव–इन्जिनियर यादवको उपचारकै क्रममा मृत्यु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

सर्लाही, ३ फागुन — सर्लाहीको मलंगवामा आइतबार साँझ गोली प्रहारबाट गम्भीर घाइते भएका पूर्वाधार विकास कार्यालयका सव–इन्जिनियर प्रमोद यादवको उपचारका क्रममा निधन भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको अवस्थामा राति उनको ज्यान गएको हो।

मलंगवा नगरपालिका–१० अदालत नजिकै रहेको आफ्नै डेरामा बसिरहेका बेला अज्ञात व्यक्तिले बाहिर बोलाएर बार्दलीमै यादवमाथि गोली चलाएको प्रहरीले जनाएको छ। गोली प्रहारपछि आक्रमणकारी फरार भएका थिए। गम्भीर घाइते यादवलाई तत्काल अस्पताल पुर्‍याइए पनि बचाउन नसकिएको प्रहरीले पुष्टि गरेको छ।

सिरहाको सुखीपुर घर भएका सव–इन्जिनियर यादव करिब एक वर्षदेखि पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत थिए। उनी परिवारसहित मलंगवामा बस्दै आएका थिए। उनका दुई वर्षीया छोरी रहेको बताइएको छ।

घटनापछि मलंगवा क्षेत्रमा त्रासको अवस्था रहेको छ भने प्रहरीले सम्भावित संलग्न व्यक्तिको खोजीका लागि व्यापक सर्च अभियान सञ्चालन गरेको जनाएको छ। गोली प्रहारको कारण र आक्रमणकारीबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

Leave a Comment