जनकपुरधाम । मिटरब्याज पीडितहरूले काठमाडौं केन्द्रित पैदल मार्चलाई सोमबार बिहान वर्षा र छाताको अभावका कारण केही समयका लागि स्थगित गरेका छन्। आइतबार राति रौतहटको चपुरस्थित धर्मशालामा बसेका उनीहरू बिहानै यात्रा अघि बढाउने तयारीमा थिए।
अभियन्ता लक्ष्मी घिमिरेका अनुसार टोलीमा रहेका अधिकांश सहभागीसँग छाता नहुँदा मुसलधारे वर्षामा यात्रा गर्न कठिन भएको हो। करिब १०० देखि १५० जनाका लागि छाताको व्यवस्था भएपछि मात्रै मार्च पुनः अघि बढाइने उनले बताइन्।
उनले टोलीमा वृद्धवृद्धासमेत सहभागी रहेकाले उनीहरूको सुरक्षालाई प्राथमिकता दिँदै यात्रा केही समय रोकिएको जानकारी दिइन्। लगातारको वर्षा, चर्को घाम र लामो पैदल यात्राका कारण केही महिला बिरामी परेको तथा धेरै सहभागीको खुट्टा सुन्निने, फोका उठ्ने र घाउ लाग्ने समस्या देखिएको पनि उनले बताइन्।
मिटरब्याज पीडितहरूले असार २५ गते जनकपुरधामको तिरहुतिया गाछीबाट काठमाडौं केन्द्रित पैदल मार्च सुरु गरेका हुन्। उनीहरूले सरकारसँग भएका सहमति कार्यान्वयन, मिटरब्याजसम्बन्धी फर्जी लिखत खारेज, विशेष ऐन निर्माण, विशेष न्यायाधिकरण गठनलगायत ६ बुँदे माग पूरा गर्न दबाब दिँदै सिंहदरबारसम्म पुग्ने घोषणा गरेका छन्।
आन्दोलनकारीहरूले प्रतिकूल मौसम र स्वास्थ्य चुनौतीका बाबजुद आफ्ना माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन्।
छाताको अभाव र वर्षाले रोकियो मिटरब्याज पीडितको काठमाडौं मार्च
Leave a Comment
Leave a Comment

