विराटनगर, २२ पुस ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कांग्रेस–एमाले गठबन्धन सरकारमा रहेका सबै मन्त्री हटाएर नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। मंगलबार गरिएको पुनर्गठनअनुसार एमाले र कांग्रेसबाट समान संख्यामा ५/५ जना मन्त्री नियुक्त भएका छन्।
पुनर्गठनअघि मन्त्रिपरिषद्मा रहेका एमालेका रेवतीरमण भण्डारी (आन्तरिक मामिला तथा कानुन), राम राना (आर्थिक मामिला), एकराज कार्की (खानेपानी), पाँचकर्ण राई (सामाजिक विकास) र राज्यमन्त्री सिर्जना राई हटाइएका छन्। कांग्रेसतर्फका भूपेन्द्र राई (भौतिक पूर्वाधार तथा स्वास्थ्य), सदानन्द मण्डल (पर्यटन), खगेनसिं हाङगाम (कृषि) तथा राज्यमन्त्री भूमिप्रसाद राजवंशी पनि फिर्ता गरिएका छन्।
नयाँ मन्त्रिपरिषद्मा एमालेबाट विदुर लिङथेपलाई आर्थिक मामिला, चिन्तन (तिलचन) पाठकलाई खानेपानी, इन्द्रमणि पराजुलीलाई आन्तरिक मामिला तथा कानुन र रामकुमार महतोलाई सामाजिक विकास मन्त्री बनाइएको छ। उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन मन्त्रालयका राज्यमन्त्री नियुक्त भएका छन्।
कांग्रेसबाट प्रदीप सुनुवार भौतिक पूर्वाधार, भीम पराजुली पर्यटन, वन तथा वातावरण, मानबहादुर लिम्बु स्वास्थ्य र इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्री बनेका छन्। शोभा चेम्जोङ भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त भएकी छन्।
भागबण्डा मिलाउन गरिएको यो फेरबदलपछि नयाँ मन्त्रीहरूको कार्यकाल एक वर्षको हुने बताइएको छ। यसअघि कांग्रेसका मन्त्री २०८१ भदौ २८ गते नियुक्त भएका थिए भने एमालेका केही मन्त्री २०८१ जेठदेखि नै सरकारमा थिए। पुराना मन्त्रीहरू विभिन्न विवादमा परेपछि सरकारको आलोचना हुँदै आएको थियो।
मन्त्रिपरिषद् पुनर्गठनप्रति विपक्षी दलहरू भने असन्तुष्ट देखिएका छन्। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले यसलाई ‘असफल सरकारको असफलता लुकाउने नाटक’ भनेका छन्।
उनले भने, “सरकारको जग नै कमजोर भएपछि मान्छे फेरेर मात्रै परिवर्तन हुँदैन। यो पुनर्गठन भागबण्डा पुर्याउन र नेता व्यवस्थापन गर्न गरिएको हो।”
विपक्षीको आरोप छ—जनतामा सेवा प्रवाह सुधार गर्नुभन्दा सत्ता जोगाउन र आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्नकै लागि मन्त्रिपरिषद् फेरबदल गरिएको हो।

