काठमाडौं, चैत ८, २०८२ — विश्वव्यापी आतंकवाद सूचकांकमा नेपालको अवस्था उल्लेख्य रूपमा सुधार भएको देखिएको छ।
अष्ट्रेलियाको सिड्नीस्थित स्वतन्त्र संस्था ‘इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस’ले सार्वजनिक गरेको सन् २०२६ को प्रतिवेदनअनुसार नेपाल अघिल्लो वर्षको ६८औं स्थानबाट झरेर ८९औं स्थानमा पुगेको छ।
सूचकांकमा स्थान तल जानु सुधारको संकेत मानिन्छ, जसले नेपालमा आतंकवादी गतिविधि घटेको र सुरक्षा अवस्था सुदृढ बन्दै गएको जनाउँछ।
प्रतिवेदनअनुसार सन् २०२५ मा नेपालमा कुनै ठूला आतंकवादी घटना वा आक्रमण दर्ता नभएको उल्लेख गरिएको छ।
पाकिस्तान शीर्षमा, भारत १३औं स्थानमा
विश्वका १६३ देश समेटिएको उक्त सूचकांकमा पाकिस्तान आतंकवादबाट सबैभन्दा बढी प्रभावित देशका रूपमा पहिलो स्थानमा रहेको छ।
भारत भने १३औं स्थानमा रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा दुई स्थान तल हो। भारतमा पछिल्लो एक वर्षमा आतंकवादी घटनामा ४३ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ।
यसैगरी, अफगानिस्तान ११औं, म्यानमार १४औं र बंगलादेश ४२औं स्थानमा रहेका छन्। भुटान र श्रीलंका भने आतंकवादी गतिविधि शून्य भएका देशहरूको सूचीमा परेका छन्।
दक्षिण एसिया अझै सबैभन्दा प्रभावित क्षेत्र
प्रतिवेदनले दक्षिण एसियालाई लगातार दश वर्षदेखि आतंकवादबाट सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा उल्लेख गरेको छ। यस वर्ष पहिलो पटक पाकिस्तान सूचीको शीर्ष स्थानमा पुगेको हो।
अफगानिस्तानको अवस्थामासमेत सुधार देखिएको छ र यो शीर्ष १० देशको सूचीबाट बाहिरिएको छ।
विश्वभर आतंकवादी घटनामा कमी
सन् २०२५ मा विश्वभर आतंकवादका कारण हुने मृत्युमा २८ प्रतिशतले कमी आएको छ भने आक्रमणको संख्या पनि करिब २२ प्रतिशतले घटेको छ।
समग्रमा ८१ देशको अवस्थामा सुधार आएको छ भने १९ देशको अवस्था बिग्रिएको प्रतिवेदनमा उल्लेख छ।
पश्चिमी देशमा भने वृद्धि
पश्चिमी देशहरूमा भने आतंकवादसँग सम्बन्धित घटनामा वृद्धि देखिएको छ।
युरोपियन युनियनका १४ देशमा सन् २०२४ मा ५८ वटा आतंकवादी हमला दर्ता भएका थिए। फ्रान्समा १४ र जर्मनीमा ६ वटा हमला भएका छन्।
यसैगरी, आतंकवादसँग सम्बन्धित गतिविधिमा संलग्न आरोपमा ईयू क्षेत्रमा ४४९ जना पक्राउ परेका छन् भने बेलायतमा मात्रै ३ हजारभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।






