नौबुँदे सहमतिपछि गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असार २९ — राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
गणेश नेपालीले असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर रूपमा जलेका उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उपचारकै क्रममा असार २७ गते उनको निधन भएको थियो।
उनको मृत्युपछि दोषीमाथि कारबाही, निष्पक्ष छानबिन तथा पीडित परिवारलाई न्याय र क्षतिपूर्तिको माग गर्दै विभिन्न स्थानमा विरोध प्रदर्शन र श्रद्धाञ्जली कार्यक्रम आयोजना भएका थिए।
यसैबीच सरकार र पीडित पक्षबीच आइतबार नौबुँदे सहमति भएपछि शव अन्त्येष्टिका लागि बुझाइएको हो। सहमतिपछि सोमबार पशुपति आर्यघाटमा धार्मिक परम्पराअनुसार परिवारका सदस्य र आफन्तको उपस्थितिमा गणेश नेपालीको अन्त्येष्टि गरिएको छ।
गणेश नेपालीको आत्मदाह र त्यसपछिको घटनाक्रमले सरकारी सेवा प्रवाह, नागरिकका गुनासा र प्रशासनिक उत्तरदायित्वबारे देशभर व्यापक बहस सिर्जना गरेको छ।

Leave a Comment