१५ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेसले पुस अन्त्यमा महाधिवेशन गर्ने निर्णय गरेसँगै त्यसको व्यवहारिकता र केन्द्रीय समितिको म्याद विस्तारबारे आन्तरिक बहस चर्किएको छ। विशेष महाधिवेशनका पक्षमा उभिएको समूहले म्याद थप्ने निर्णय ‘अनावश्यक’ र ‘सन्दिग्ध उद्देश्ययुक्त’ भएको आरोप लगाएको छ।
सोमबार केन्द्रीय कार्य समितिको बैठकपछिको निर्णयसम्बन्धी विज्ञप्ति सार्वजनिक भएपछि विशेष महाधिवेशन माग्दै आएको समूहले अपिल जारी गरी सो निर्णयले महाधिवेशन समयमा नहुने आशंका झनै गहिरिएको टिप्पणी गरेको छ।
समूहले सार्वजनिक गरेको अपिलमा भनिएको छ,
“पुस २६–२८ मा महाधिवेशन गर्ने भनिँदा–भनिँदै समितिको म्याद माघ मसान्तसम्म बढाइएको छ। यस्तो कदमले नेतृत्व सचेत रूपमा प्रक्रिया लम्ब्याउन खोजिएको संकेत दिन्छ।”
कार्यक्रमका लागि भित्र्याइएको कार्यतालिका पनि प्रयोगमा असम्भव देखिएको विशेष महाधिवेशन पक्षधरहरूको दाबी छ।
तिनीहरूले भनेका छन्,
“हाम्रो हातमा समयै छैन। त्यसैले कुनै कारण देखाइ अधिवेशन रोकियो भने २९ असोजमा दर्ता भएको विशेष महाधिवेशन प्रस्ताव यथावत् छ र विधानले अनुमति दिएको कुनै पनि समयमा कार्यान्वयन गर्न सकिन्छ।”
साथै आगामी आमचुनावसँग सम्बन्धित सिफारिसहरू, मनोनयन प्रक्रिया र संगठनका कामहरूको वैधता तथा निष्पक्षतासमेत म्याद विस्तारले प्रभावित पार्ने चेतावनी दिइएको छ।
विशेष महाधिवेशन पक्षधर समूहले आवधिक महाधिवेशनलाई पार्टीको जीवनरेखा भन्दै नेतृत्वलाई समयमै प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
उनीहरूको भनाइ छ,
“१५औँ महाधिवेशनको घोषणा विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर अभियानको उपलब्धि हो। यसलाई कमजोर पार्ने कुनै संकेत देखिएमा हामी वैधानिक रूपमै कदम चाल्न बाध्य हुनेछौँ।”



Leave a Reply