सञ्चारगृहअगाडि शंकास्पद पार्किङप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिन र कारबाहीको माग

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असार २९ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारमाध्यमका कार्यालयअगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घटनाको तत्काल निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा सोमबार जारी विज्ञप्तिमा यस्ता गतिविधिले प्रेस तथा सञ्चार क्षेत्रलाई त्रसित बनाउने प्रयास गरेको उल्लेख गर्दै दोषी जोसुकै भए पनि पहिचान गरी कानुनअनुसार कारबाही गर्न आग्रह गरिएको छ।
रास्वपाले सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायलाई घटनाप्रति गम्भीर बन्न आग्रह गरेको छ।
विज्ञप्तिमा यस्ता रहस्यमय र शंकास्पद गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता तथा प्रेस स्वतन्त्रतामाथिको चुनौती भएको उल्लेख गरिएको छ। कुनै पनि बहानामा सञ्चार स्वतन्त्रता कमजोर पार्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने वा लोकतन्त्रको चौथो अंगलाई दबाबमा पार्ने प्रयास स्वीकार्य नहुने रास्वपाको भनाइ छ।
पार्टीले घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषीमाथि कानुनी कारबाही अघि बढाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।

Leave a Comment