कर्णाली सरकार संकटमा : कांग्रेसका चारै मन्त्रीको सामूहिक राजीनामा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असार ३१ — कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका सबै मन्त्रीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। बुधबार बिहान मन्त्रिपरिषद् बैठकअघि उनीहरूले मुख्यमन्त्री यामलाल कडेललाई भेटेर राजीनामा बुझाएका हुन्।
कांग्रेसबाट सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, राजीवविक्रम शाह, सुरेश अधिकारी र विजया बुढाले पद त्याग गरेका छन्। कांग्रेसका चार मन्त्री बाहिरिएसँगै सात सदस्यीय कर्णाली मन्त्रिपरिषद् अहिले संकटमा परेको छ।
राजीनामापछि सञ्चारकर्मीसँग कुरा गर्दै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आफूहरूले मुख्यमन्त्रीलाई जनताको काम प्रभावकारी रूपमा अघि बढाउन आग्रह गर्दै सरकार सञ्चालनको बाटो खुला गरिदिएको बताए। उनले तत्काल कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनबारे कुनै निर्णय वा तयारी नभएको स्पष्ट पारे।
४० सदस्यीय कर्णाली प्रदेशसभामा कांग्रेस र एमालेको गठबन्धनबाट सरकार गठन भएको थियो। दुवै दलबीच प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी रहेकाले पछिल्लो राजनीतिक घटनाक्रमलाई त्यसैसँग जोडेर पनि हेरिएको छ।
कांग्रेसका चार मन्त्रीको एकैपटक राजीनामासँगै मुख्यमन्त्री यामलाल कडेल नेतृत्वको सरकार अल्पमतमा पर्ने सम्भावना बढेको छ। अब कर्णाली प्रदेशको सत्ता समीकरण कसरी अघि बढ्छ भन्ने विषय राजनीतिक रूपमा चासोको केन्द्र बनेको छ।

Leave a Comment