मंसिर १५, काठमाडौं
मोरङ जिल्लामा GenZ आन्दोलनका क्रममा सरकारी संरचनामाथि भएको तोडफोड तथा आगजनी घटनामा संलग्न भएको अभियोगमा प्रहरी शुक्रबार ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय) र सरकारी वकिल कार्यालयमा भएका तोडफोडका दृश्य सार्वजनिक भएपछि प्रहरीले घटनास्थल र आसपासका क्षेत्रको तथ्य–प्रमाण संकलन गर्दै अनुसन्धान अघि बढाएको थियो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा विराटनगर–३ का ४१ वर्षीय महेश नेपाल, विराटनगर–५ का २६ वर्षीय आवाज पौडेल, विराटनगर–१० का ३२ वर्षीय राजिव यादव र ३७ वर्षीय ताजिम अन्सारी, विराटनगर–११ का २९ वर्षीय अरुण साह तथा विराटनगर–६ का ५५ वर्षीय बलराम कामत छन्।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङले थुनामा राखेर अनुसन्धान अघि बढाइरहेको छ।
प्रहरीले आगजनी र तोडफोडमा संलग्न व्यक्तिहरूविरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता प्रक्रिया थालिएको जनाएको छ। घटनामा अन्य कोही संलग्न रहेको आशंका पनि प्रहरीले राखेको छ र थप खोजी कार्य जारी रहेको बताएको छ।



Leave a Reply