निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र काठमाडौं जाने राजमार्गमा रातिदेखि सवारी आवागमन रोक

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

चितवन, साउन २ — निरन्तर वर्षा र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडकखण्ड तथा काठमाडौं जोड्ने पृथ्वी राजमार्गमा शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म सवारी आवागमन रोक्ने निर्णय गरेको छ।
प्रशासनका अनुसार धादिङसहित आसपासका जिल्लामा लगातार वर्षा भइरहेकाले रातिको समयमा यात्रा गर्दा दुर्घटना र पहिरोको जोखिम उच्च रहने देखिएको छ। यात्रु तथा चालकको सुरक्षालाई प्राथमिकतामा राख्दै अस्थायी रूपमा राजमार्ग बन्द गरिएको हो।
यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न तथा आवश्यक परे नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सम्बन्धित निकायसँग सम्पर्कमा रहन प्रशासनले आग्रह गरेको छ। यात्रामा पर्ने असुविधाप्रति प्रशासनले क्षमायाचना समेत गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार भरतपुरबाट काठमाडौंतर्फ जाने सवारीलाई केन्द्रीय बसपार्क, आँपटारी, रामनगर, जुगेडी लगायतका सुरक्षित स्थानमा रोक्ने व्यवस्था गरिएको छ।
त्यस्तै, काठमाडौंबाट पोखरा तथा नारायणगढतर्फ आउने सवारीलाई मुग्लिन र कुरिनटार क्षेत्रमा तथा पोखराबाट पूर्वतर्फ आउने सवारीलाई तनहुँका विभिन्न सुरक्षित स्थानमा रोक्ने समन्वय गरिएको छ। पूर्वी नवलपरासीबाट आउने सवारीलाई गैंडाकोट, भेडाबारी र थुम्सीलगायतका क्षेत्रमा व्यवस्थित रूपमा राख्ने तयारी गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जाल, ट्राफिक चेकपोस्ट तथा अन्य माध्यमबाट राजमार्ग बन्दको सूचना निरन्तर प्रवाह गरिरहेको छ। पहिरोको सम्भावित जोखिम रहेका क्षेत्रमा कुनै पनि सवारी साधन नराख्ने नीति अनुसार सबै सवारीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य भइरहेको जनाइएको छ।

Leave a Comment