कांग्रेस बाराको आन्तरिक विवाद सतहमा, पार्टी कार्यालयमै दुई पक्ष भिडे

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कलैया, बारा । नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिको कार्यालयमा मंगलबार आन्तरिक विवाद उत्कर्षमा पुगेपछि संस्थापन र असन्तुष्ट पक्षका कार्यकर्ताबीच झडप भएको छ। झडपपछि स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ।
घटना भएको बेला जिल्ला महिला संघको कार्यक्रम पार्टी कार्यालयमा सञ्चालन भइरहेको थियो। सोही क्रममा दुवै पक्षका कार्यकर्ता आमनेसामने भएपछि विवाद चर्किएको हो। बढ्दो तनावका कारण महिला संघको कार्यक्रम बीचमै प्रभावित भएको छ भने प्रहरीले कार्यक्रमस्थलमा रहेका सहभागीलाई सुरक्षित रूपमा बाहिर निकालेको थियो।
प्रतिनिधिसभा निर्वाचनपछि पार्टीभित्र देखिएको नेतृत्व विवाद नै झडपको मुख्य कारण मानिएको छ। निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा सक्रिय भूमिका नखेलेको आरोपमा केन्द्रीय अनुशासन समितिले तत्कालीन जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको थियो। त्यसपछि जिल्ला उपसभापति मनोज भट्टलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ।
कार्यवाहक सभापति भट्टले आगामी पार्टी कार्यक्रमको तयारीका लागि मंगलबार विस्तारित बैठक बोलाएका थिए। तर बैठक सुरु हुनुअघि नै निलम्बित सभापति पक्ष र कार्यवाहक सभापति पक्षका कार्यकर्ताबीच भनाभन सुरु भई धकेलाधकेल र झडपको अवस्था सिर्जना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
विशेष महाधिवेशनदेखि नै बारा कांग्रेसमा नेतृत्वलाई लिएर विवाद जारी छ। यही आन्तरिक शक्ति संघर्षका कारण पार्टीका कार्यक्रमसमेत प्रभावित हुन थालेका छन्।
घटनापछि पार्टी कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। थप अप्रिय घटना हुन नदिन प्रहरी सतर्क अवस्थामा रहेको छ।

Leave a Comment