पाकिस्तानको गैरजिम्मेवार व्यवहारका कारण टर्की वार्ता निष्कर्षमा पुग्न सकेन : अफगानिस्तान

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

आइतबार, २३ कात्तिक, २०८२, काठमाडौं — अफगानिस्तानको तालिबान सरकारले टर्कीमा भएको बहुपक्षीय वार्ता निष्कर्षमा नपुग्नुको दोष पाकिस्तानमाथि लगाएको छ। इस्तानबुलमा बसेको वार्तामा पाकिस्तानी प्रतिनिधि समूहको व्यवहारलाई असंयमित र गैरजिम्मेवार भएको भन्दै अफगान पक्षले बैठक विफल भएको जनाएको छ।

तस्विरमा जारी गरिएको विज्ञप्तिमा अफगान तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भनेका छन् कि “इस्लामिक इमिरेट्सको राम्रो इच्छाशक्ति र मध्यस्थकर्ताहरूको सबै प्रयासहरूका बाबजुद पाकिस्तानी प्रतिनिधिमण्डलको गैरजिम्मेवार व्यवहारका कारण वार्ता कुनै निष्कर्षमा पुग्न सकेन।”

मुजाहिदले थप स्पष्ट पारेका छन् कि पाकिस्तानी पक्षले वार्ताकै क्रममा आफ्नो देशको सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगान सरकारमै सार्ने प्रयास गरेको तर वास्तविक रूपमा अफगान सरकारले त्यस प्रकारको जिम्मेवारी लिन तयार नभेटिएको उनीहरूको तर्क छ। उनले भने, “कसैलाई पनि अफगानिस्तानको भूमि कुनै पनि अन्य देशविरुद्ध प्रयोग गर्न दिइने छैन, न त कुनै पनि देशलाई आफ्नो भूमिबाट अफगानिस्तानको राष्ट्रिय सार्वभौमसत्ता, स्वतन्त्रता र सुरक्षाविरुद्ध कार्य गर्न वा समर्थन गर्न दिइनेछ।”

प्रवक्ता मुजाहिदले पाकिस्तानका जनतालाई अफगान जनताको दाजुभाइको रूपमा सम्झँदै, अफगानिस्तानले उनीहरूको कल्याण र शान्तिका लागि प्रार्थना गरिरहने र आफ्नो क्षमता अनुसार सहयोग जारी राख्ने बताएका छन्। साथै उनले जोड दिए कि “अफगान जनताको सुरक्षा गर्नु तालिबानको कानुनी र राष्ट्रिय जिम्मेवारी हो” र कुनै पनि आक्रमणको अवस्थामा त्यसलाई पूर्ण शक्तिका साथ सामना गरिने पनि बताए।

यस वार्ताले क्षेत्रीय सुरक्षा, सीमा सुरक्षा र संगठित हिंसा नियन्त्रणसम्बन्धी संवेदनशील विषयहरू समेट्ने अपेक्षा गरिएको थियो। तर मध्यस्थकर्ताहरू र सहभागि पक्षबीच सुरक्षासम्बन्धी जिम्मेवारी तथा भूमिको प्रयोगबारे देखिएको असहमति र आरोप–प्रत्यारोपले बैठकलाई सार्थक परिणत हुनबाट रोक्यो।

इस्तानबुलमा भएको बहुपक्षीय वार्ता अपेक्षित नतिजामा नपुग्दा क्षेत्रीय शान्ति र सुरक्षा सम्वन्धी छलफलमा थप अनिश्चितता बढेको छ र आगामी दिनहरूमा राजनीतिक तथा कूटनीतिक तहमा यसको प्रभाव कस्तो रहनेछ भन्ने विषयमा नजर राख्नुपर्ने देखिन्छ।

Leave a comment