कलैया, बारा । नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य नेजामुद्दिन अंसारीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ। प्रतिनिधिसभा सदस्य अरविन्द साहलाई सामाजिक सञ्जालमार्फत कालो मसी दल्ने चेतावनी दिएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अंसारीले एक दिनअघि आफ्नो फेसबुकमार्फत ‘ओपन च्यालेन्ज’ भन्दै बारा निर्वाचन क्षेत्र नम्बर–३ का सांसद अरविन्द साहलाई जहाँ भेटे पनि कालो मसी दल्ने चेतावनी दिएका थिए। उनले सांसद साहले निर्वाचनका बेला गरेका प्रतिबद्धताअनुसार १ प्रतिशत पनि काम गर्न नसकेको आरोपसमेत लगाएका थिए।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घले का अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त अभिव्यक्तिले शान्ति–सुरक्षामा असर पर्न सक्ने देखिएपछि अंसारीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको हो।
“सामाजिक सञ्जालमार्फत सार्वजनिक पदमा रहेका व्यक्तिलाई लक्षित गर्दै धम्कीपूर्ण अभिव्यक्ति दिएको विषयमा आवश्यक अनुसन्धानका लागि नेजामुद्दिन अंसारीलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ,” प्रवक्ता घलेले जानकारी दिए।
प्रहरीले घटनाको प्रकृति र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।
उक्त घटनापछि सामाजिक सञ्जालमा गरिएको अभिव्यक्ति, त्यसको कानुनी दायरा तथा सार्वजनिक व्यक्तिको सुरक्षाका विषयमा स्थानीयस्तरमा चर्चा सुरु भएको छ।
सांसद अरविन्द साहलाई कालो मसी दल्ने चेतावनी दिने नेविसंघका केन्द्रीय सदस्य अंसारी पक्राउ
Leave a Comment
Leave a Comment

