१४ मंसिर ,काठमाडौं : आजदेखि सुरु हुने भनिएको उखु किसानहरूको आन्दोलन स्थगित भएको छ। कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारले दुई साताभित्र समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेपछि किसानहरूले आफ्नो आन्दोलन रोक्ने निर्णय गरेका हुन्।
उखु किसानहरूले सर्लाहीको हरिवनमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै अनिश्चितकालीन चक्काजाम गर्ने योजना बनाएका थिए। उनीहरूले २०८१/८२ सालको अनुदानको बाँकी रकममध्ये प्रतिक्विन्टल ३५ रुपैयाँ तत्काल उपलब्ध गराउन तथा २०८२/८३ को क्रसिङ सिजनका लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ निर्धारण गर्न माग राख्दै गत साता मन्त्री परियारलाई ज्ञापनपत्र बुझाएका थिए।
मन्त्री परियारले उठाइएका माग सम्बोधनका लागि दुई हप्ता समय चाहिने बताएकाले हाललाई आन्दोलन स्थगित गरिएको नेपाल उखु उत्पादक महासंघले जनाएको छ।
महोत्तरी, सिराहा, सुनसरी, रौतहट, बारा, नवलपरासी, कञ्चनपुर लगायत उखु उत्पादन हुने जिल्लाका किसानहरूले सर्लाहीको हरिवनबाट आन्दोलन थाल्ने तयारी गरेका थिए।
सरकारले गत वर्ष किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय गरे पनि आधा अर्थात् ३५ रुपैयाँ मात्र भुक्तानी भएपछि किसानहरू असन्तुष्ट बनेका थिए।



Leave a Reply