काठमाडौं, साउन १२ — वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणपछि उत्पन्न विवादले देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ। नेपाल चिकित्सक संघले घटनाको विरोधमा मंगलबार आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा स्थगित गर्ने निर्णय गरेको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई नियमित सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
नेपाल चिकित्सक संघले नारायणी अस्पतालमा भएको आक्रमणमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न माग गर्दै आन्दोलन थालेको हो। संघका अनुसार घटनापछि जिल्ला प्रशासन कार्यालय पर्सामा भएको छलफलका क्रममा पनि चिकित्सकमाथि दुर्व्यवहार भएको र संघका केन्द्रीय सदस्यसहित नारायणी शाखाका अध्यक्षमाथि अपमानजनक व्यवहार गरिएको आरोप लगाइएको छ। सोही क्रममा डा. प्रमोद राम गम्भीर घाइते भएको संघले जनाएको छ।
चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनअनुसार दोषीलाई कडा कारबाही गर्नुपर्ने, साथै घटनामा जिम्मेवार प्रशासनिक र सुरक्षा अधिकारीमाथि पनि अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग अघि सारेको छ। आन्दोलनको पहिलो चरणस्वरूप मंगलबार आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरिएको र बुधबार सर्वपक्षीय बैठकबाट थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने संघले जनाएको छ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने स्वास्थ्य सेवा बन्द हुँदा सर्वसाधारण प्रत्यक्ष प्रभावित हुने भन्दै सेवा नरोक्न आग्रह गरेको छ। मन्त्रालयका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ र दोषीलाई कानुनको दायरामा ल्याइनेछ।
स्वास्थ्यमन्त्री निशा मेहताले घाइते चिकित्सक डा. प्रमोद रामको उपचारको व्यवस्था मिलाउनुका साथै सुरक्षा निकायलाई घटनामा संलग्नमाथि कडा कारबाही गर्न निर्देशन दिएकी छन्। मन्त्रालयले स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले कुनै पनि बहानामा उपचार सेवा अवरुद्ध हुन नहुने स्पष्ट गर्दै सबै अस्पताललाई नियमित रूपमा सेवा सञ्चालन गर्न अपिल गरेको छ।
नारायणी अस्पतालको घटनाले चिकित्सकको सुरक्षा, अस्पतालको कार्य वातावरण र स्वास्थ्य सेवाको निरन्तरताबारे नयाँ बहस सुरु गराएको छ। अब सरकार र चिकित्सक संघबीचको संवादले आन्दोलनको आगामी दिशा तय गर्ने अपेक्षा गरिएको छ।
नारायणी अस्पताल घटनाले स्वास्थ्य सेवा प्रभावित, चिकित्सक संघको आन्दोलनबीच सेवा नरोक्न सरकारको आग्रह
Leave a Comment
Leave a Comment

