२७ माघ २०८२, मंगलबार | काठमाडौं
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रका मतपत्र छपाइ सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको मतपत्र छपाइको काम सोमबारसम्ममा पूरा भएको हो।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म कुल एक करोड २२ लाख ५६ हजार मतपत्र छापिइसकेको छ। छपाइ सकिएका मतपत्रहरूको प्याकिङसमेत भइसकेको र १० हजार ७५९ बाकस मतपत्र सुरक्षित रूपमा तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।
आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, हुम्ला, कालीकोट, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर तथा पाँचथर जिल्लाका मतपत्र छपाइ सम्पन्न भइसकेको छ।
त्यसैगरी इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, झापा, मोरङ, उदयपुर, बागलुङ, गुल्मी, गोरखा, म्याग्दी, पर्वत, मुस्ताङ तथा बर्दघाट सुस्ता पश्चिम (नवलपरासी) जिल्लाका मतपत्र पनि छापिइसकेको आयोगले जनाएको छ। लमजुङ, तनहुँ, स्याङ्जा र बर्दियासहित कुल ४४ जिल्लाको मतपत्र छपाइ पूरा भएको हो।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक र प्रत्यक्ष दुवै प्रणाली अन्तर्गत मतपत्र छपाइ गत पुस २२ गतेदेखि सुरु गरिएको थियो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छापेर सम्बन्धित जिल्लामा पठाइसकिएको छ।
समानुपातिक प्रणालीतर्फ पुस २६ गतेदेखि सुरु गरिएको छपाइ माघ १३ गते सम्पन्न भई दुई करोड आठ लाख ३० हजार मतपत्र प्याकिङ तथा रुजु गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भने दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने लक्ष्य रहेको आयोगको भनाइ छ।
निर्वाचनको मिति नजिकिँदै जाँदा मतपत्र छपाइ, प्याकिङ र ढुवानी कार्य तीव्र रूपमा अगाडि बढाइएको आयोगले जनाएको छ।






