प्रधानमन्त्री कार्कीविरुद्ध अदालत अवहेलनाको रिट, मंसिर ७ मा सुनुवाइ तोकियो

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१ मंसिर काठमाडौँ ।
प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना भएको दाबी गर्दै रिट दर्तા गरिएको छ। अधिवक्ता प्रेम सिलवालले सरकारले सर्वोच्च अदालतको आदेश विपरीत राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगरेको भन्दै अवहेलना रिट दायर गरेका हुन्।

सर्वोच्च अदालतले अघिल्लो सरकारका पालामा नियुक्त ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्नु निर्देशन दिएको थियो। न्यायाधीश सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले गत कात्तिक १६ गते अन्तरिम आदेश जारी गर्दै निर्णय यथास्थितिमा राख्न भनेको थियो।

तर आदेश आएको भोलिपल्ट नै सरकारले सम्बन्धित राजदूतलाई फिर्ता बोलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो। यही कार्यलाई सर्वोच्चको आदेश उल्लङ्घन भएको भन्दै अधिवक्ता सिलवालले अवहेलना रिट दर्ता गराएका हुन्।

उक्त रिटमा सर्वोच्च अदालतले मंसिर ७ गतेका लागि पेशी तोकेको अधिवक्ता सिलवालले जानकारी दिएका छन्।

वर्तमान सरकारले गत असोज ३० गते अघिल्लो सरकारले नियुक्त गरेका ११ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।


 

Leave a comment